२०८३ जेष्ठ १७ गते आइतवार

कविता: सम्बन्धको सात फेरो



आउ तिम्रो सुन्दरता संग
मेरो सुन्दरता जोडौ ।

लुकेका ती कलिला मुनालाई,
सुकेका पातले छोपे जस्तो,
तिमीलाई पनि तिम्रो,
मन्द मुस्कानले छोपेको छ ।

आउ एकैछिन खुल,
मेरो हृदयमा डुब ।

फूलेको फूल ओइलाए झै,
ओइलाएको फूलमा भमरा लजाए झै,
कति पछेउरा छेल पारेर हेर्छेउ।

आउ कहिलेकाही त,
मेरै काधमा सुतेर,मलाई हेरि राख ।

तिम्रो अनुहारबाट हटाउ,
मखमलको घुम्टे फेरो,
उदाउ खुल्ला आकाशमा,
पंछी झै सारा संसार हेर।

देखाउ लुकेका भावहरु,
मेटाउ पृतका तृश्नाहरू,
आउ एकैछिन,
प्रकृतिसंग समाहित हौँ ।

तिमी एक्ला एक्लै,
मलाई हेरेर कति लजाउछेउ।
आज लजाओस प्रकृति,
बादलको फेरो लगायर,
आकाशले धित मरुन्जेल हेरोस ।
चाउरी परुन,
वरिपरि फूलेका फूलहरु।
मख्ख परुन,
गुडमा बसेका परेवी जोडीहरु।

हेर न हेर अझै हेर,लुकेरै हेर।
पछेउरी छेल पारेर हेर।
कहिले झ्यालबाट हेर।
कहिले तस्बिरमा हेर।
हेर्न बसेकी मयालु हेर।
एक नर पनि नबिर्सेर हेर ।

आउ कहिलेकाही त
हेर्न बसेको नजर संग समाहित हौ ।
आउ सिउदो सजाउ,
मेरा हातहरु समाउ,
सबै छेल पारेर हेर्ने,
रुमाल गाठो पार।
हाम्रा सम्बन्धहरुलाई बाध,
साथ छोडेर टाढा नजाउन ।

आउ साटिदेउ मन मुटु,
मैले फेर्ने स्वास,
तिम्रो शरिरमा बग्ने रगत,
आफ्नै जस्तो लागोस ।
कामहरु साटिदेउ,
मामहरु साटिदेउ,
साटिदेउ प्राण,
तिमीले बिताउने दिनहरु,
आफ्नै जस्तो लागोस ।

आउ न हे आउ,
मलाई लुकेर हेर्ने मान्छे आउ,
एक दिन घर सजाउ,
जग्यमा बठ बनाए।
तिम्रो सुन्दरता लुकाउ,
पछेउरीलाई घुम्टो बनायर।
जग्यको सात फेरो जस्तै
सात जुनीलाइ नाता गासौ ।

अउ न हे आउ,
मलाई तस्बिरमा हेर्ने मान्छे आउ।
आज बुझाइदेउ,
तिम्रो सुन्दरता छोप्ने पछेउरा ।
आज बोकाइदेउ,
कहिले भारी नहुने मायाको भाकारी ।
गासिदेउ नाता,
बजाइदेउ पञ्चेबाजा।

आउ न हे आउ,
मलाई झ्यालमा लुकेर हेर्ने मान्छे।
सुटुक्क आउ,
मेरै मझेरीमा बसेर हेर ।
आज त झ्याल बन्द गरेर आउ।
अनुहार छोप्ने पछेउरी खोलेर आउ।
आकाश खुलेको बेला आउ,
संसार कतै भुलेको बेला आउ ।

तिमी त पछेउराबाट लुकेर हेरौला।
मलाई त,बादलाई जुन घेरे जस्तो लाग्छ ।
तिमीले पछेउरा खोलेको दिन,
पानी परेर थाकेको आकाशलाई,
बादलले छोडे जस्तो लाग्छ ।
तिमीले केश छोडेको दिन,
फूल्न आटेका कोपिलाहरु,
फूले जस्तो लाग्छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार