२०८३ भाद्र १७ गते बुधवार

रुकुमपूर्वमा बोलेरो जीप ५० मिटर तल खस्यो, चालकसहित ८ जना घाइते



 

भाद्र १६ , रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखामा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब सिस्ने गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा लाम्फाकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगातर्फ जाँदै गरेको भे १ ज ६०४५ नम्बरको बोलेरो जीप चिप्लिएर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । जीपमा चालकसहित ८ जना सवार थिए ।

दुर्घटनामा सिस्ने गाउँपालिका–८ की २६ वर्षीया जमुना गिरी र सोही ठाउँकी करिब ४८ वर्षीया जगमति सार्की गम्भीर घाइते भएका छन् । गिरीको ढाड, खुट्टा र घाँटीमा भित्री चोट लागेको छ भने सार्कीको टाउकोमा चोट लागेको डिएसपी पाण्डे भने।

त्यस्तै सिस्ने–७ का १६ वर्षीय भीमबहादुर बुढाथोकी, सिस्ने–८ का २० वर्षीय चालक हेमराज सार्की र सिस्ने–७ का २७ वर्षीय कविराज बीसीको अवस्था मध्यम रहेको छ । उनीहरूलाई हात, खुट्टा तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

सिस्ने–८ की ६९ वर्षीया झुपी सार्की र सिस्ने–८ बतासेडाँडाका २९ वर्षीय प्रकाश बस्याल पनि दुर्घटनामा घाइते भएका छन् ।

घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमकोट पुर्‍याइएको छ । उनीहरूको उपचार भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार वर्षाका कारण सडक चिप्लो हुँदा जीप चिप्लिएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । घटनास्थल प्रहरी चौकी धपेबाट करिब ५ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट करिब १८ किलोमिटर पश्चिममा पर्छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार