रुकुमपूर्व । सिस्ने गाउँपालिका–५ हमाल टोलमा चारकोठे दुईतले कच्ची घर एक्कासि भत्किँदा घरभित्र रहेका आमाछोरा भागेर ज्यान जोगाउन सफल भएका छन् ।
सोमबार दिउँसो करिब १ बजे सीता परियारको स्वामित्वमा रहेको टिनले छाएको कच्ची घर भत्किएको हो । घर भत्किन थालेपछि भाडामा बस्दै आएकी भूमे गाउँपालिका–१ लुगुमकी राष्ट्री पुन र उनका छोरा तत्काल घरबाहिर निस्किएका थिए ।
उक्त घरमा घरधनीसहित दुई भाडावाला परिवारका सात जना बस्दै आएका थिए । समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक हेमबहादुर विकले जानकारी दिए । उनका अनुसार घर भत्किँदा भएको भौतिक क्षतिको विवरण संकलन भइरहेको छ ।
स्थानीयका अनुसार केही दिनअघि मध्यपहाडी लोकमार्गअन्तर्गत कैंचिमोड–कमलदह सडकखण्डको टाकुरा जाने भागमा सडकको नाली थुनिएपछि आएको भल घरमाथिबाट बगेको थियो । उक्त भलका कारण घरको संरचना कमजोर बनेपछि एक्कासि घर भत्किएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ ।
घर भत्किएको जानकारी पाएपछि सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष वीरेन्द्र बस्नेतले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षाकर्मीले घरभित्र रहेका सामान निकालेर सुरक्षित स्थानमा सार्न सहयोग गरेका थिए ।
घटनाबाट प्रभावित राष्ट्री पुन र कर्मज्योति गुरुङका दुई परिवारलाई भूमे गाउँपालिकाले तत्काल राहत सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाको तर्फबाट सहायक कम्प्युटर अधिकृत वीरबहादुर केसीले छिप्रिदह बजारबाट दाल, चामल, सिरक–डसना, प्रेसर कुकर, कराइलगायतका आवश्यक सामग्री खरिद गरी प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री हस्तान्तरणका क्रममा पत्रकार बालाराम शेर्पाली र निराजन सिर्पाली उपस्थित थिए ।घर भत्किएपछि समस्यामा परेका बेला तत्काल राहत उपलब्ध गराएको भन्दै राष्ट्री पुन र कर्मज्योति गुरुङले भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठसहित गाउँपालिका परिवारलाई धन्यवाद दिएका छन् ।
यस्तै, घरधनी सीता परियारलाई सिस्ने गाउँपालिकाले दुईवटा त्रिपाल उपलब्ध गराएको छ । घर भत्किएपछि घरधनीका सामान सुरक्षित स्थानमा सार्न वडाध्यक्ष बस्नेतको पहलमा ट्याक्टरसमेत उपलब्ध गराइएको छ ।
घटनापछि प्रभावित परिवारको राहत तथा व्यवस्थापनमा स्थानीय तह र सुरक्षा निकाय परिचालित भएका छन् । घर भत्किए पनि समयमै बाहिर निस्कन सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । भौतिक क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्