
साउन २९, हुम्ला ।हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ। नाम्खा गाउँपालिका–२ को नावलथाङबाट प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा रहेको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेको ४ हजार ६५६ बोतल बोर्डभाइजर बियर बरामद गरिएको छ।
प्रहरीका अनुसार बरामद मदिराको अनुमानित बजार मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ पर्छ। चिनियाँ मदिराको प्रतिपोटल अनुमानित मूल्य ५ सय रुपैयाँ र बोर्डभाइजर बियरको ३५० रुपैयाँका दरले मूल्यांकन गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। डीएसपी खड्काका अनुसार नाम्खा गाउँपालिका–६ स्थित लिमि लाप्चा नाकाबाट ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा हुम्ला भित्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद गरिएको मदिरा कानुनी प्रक्रिया पूरा गरी कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए। उनका अनुसार सीमावर्ती नाकाबाट हुने अवैध मदिराको ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायसँगै जिल्लाका सरोकारवाला निकायको सक्रियता आवश्यक छ।
अवैध मदिराको कारोबार तथा ओसारपसार नियन्त्रणमा सहयोग गर्न जिल्लाका सञ्चारकर्मीले पनि प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित सबै निकायको समन्वय आवश्यक रहेको प्रजिअ गुरागाईंले बताए।














प्रतिक्रिया दिनुहोस्