२०८३ भाद्र १७ गते बुधवार

रुकुमपूर्वमा क्यूआर कोडबाटै निवेदन, प्रशासन धाउनुपर्ने बाध्यता हट्यो



 

 

भाद्र ०९, रुकुमपूर्व । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सेवाग्राहीको सहजताका लागि विभिन्न सेवाका निवेदनका ढाँचा क्यूआर कोडमार्फत उपलब्ध गराउन थालेको छ।

अब सेवाग्राहीले निवेदनको ढाँचा लिनकै लागि कार्यालय धाउनुपर्ने छैन। मोबाइलबाट क्यूआर कोड स्क्यान गरेर आफूलाई आवश्यक सेवाको निवेदनको ढाँचा डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको हो।

डाउनलोड गरिएको ढाँचा घरमै भरेर आवश्यक कागजातसहित कार्यालयमा पेश गर्न सकिनेछ। यसले सेवाग्राहीको समय र खर्च बचत गर्नुका साथै कार्यालयमा हुने अनावश्यक भीड घटाउने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कोपिला राईले प्रशासनबाट प्रवाह हुने सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन क्यूआर कोडमार्फत निवेदनका ढाँचा उपलब्ध गराइएको बताइन्।

‘सेवाग्राहीले क्यूआर स्क्यान गरेर आफूले लिन चाहेको सेवासँग सम्बन्धित निवेदनको ढाँचा डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ,’ राईले भनिन्।

रुकुमपूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो। भौगोलिक रूपमा विकट जिल्लाका कतिपय बस्तीबाट सदरमुकाम पुग्न नागरिकले लामो दूरी तय गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा सामान्य कामका लागि समेत कार्यालय पुग्नुपर्ने बाध्यता हटाउने प्रशासनको यो प्रयासलाई सेवाग्राहीमैत्री सुधारका रूपमा हेरिएको छ।

प्रशासनले प्रविधिको पहुँचबाहिर रहेका नागरिकलाई भने कार्यालयमै सेवा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ। नागरिक सहायता कक्ष अर्थात् हेल्प डेस्कबाट आवश्यक निवेदनका ढाँचा उपलब्ध गराइनेछ।

‘प्रविधिको प्रयोग गर्न असहज हुने सेवाग्राहीलाई समस्या नहोस् भनेर हेल्प डेस्कबाट आवश्यक निवेदनका ढाँचा उपलब्ध गराउने व्यवस्था गरेका छौँ,’ राईले भनिन्।

कार्यालयले सेवा प्रवाहलाई थप सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने गरी आगामी दिनमा पनि आवश्यक सुधार तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार