२०८३ साउन १२ गते मङ्गलवार

आमा र शिशु बचाएको त्यो रात…..



लामो समयको दुप्चेश्वर बसाईपछि मन भारी बनाउँदै दुप्चेश्वर गाउँपालिकाबाट विदाइ भई करिब तीन दिनको यात्राको थकानसँगै नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ गन्तव्यका रूपमा दुर्गम हिमाली जिल्ला अन्तर्गत पूर्वी रुकुमको भूमे गाउँपालिकालाई आफ्नो कर्मथलो बनाउन पाउँदा अत्यन्तै खुसी लागेको थियो। भूमे गाउँपालिका वडा नं. – ४ स्थित काँडा स्वास्थ्य चौकीमा हाजिर भई कामकाज सुरु गरेको करिब दुई सातामै, मंसिर १७ गते रातको तेस्रो चौथाई हो । करिब बिहान ३ बजे तिरको घटना आज पनि मनमा ताजै छ ।“हेलो सिस्टर… हेलो सिस्टर…” भन्दै आत्तिएको आवाज मेरो कानमा गुञ्जियो र म झसङ्ग ब्युँझिएँ। हतारहतार तल झरेर गेट खोलेर हेर्दा अटो चालक दाइ गर्भवती जनपुरी बुढालाई आफ्नो अटोमा लिएर आउनुभएको रहेछ ।

उहाँलाई यसअघि नै कार्तिक २९ गते डेट (WOG–४४+१ दिन) भएकाले रुकुम पूर्व जिल्ला अस्पतालमा प्रेषण गरिएको थियो। तर उहाँ मंसिर ०३ गते मात्र रुकुमकोट जिल्ला अस्पतालमा भर्ना हुनुभयो। त्यहाँ सिजेरियन सेक्सनको तयारी हुँदै गर्दा आमाको मुटुमा समस्या देखिएकाले नेपालगञ्ज स्थित भेरी अस्पतालमा रिफर गरिएको थियो । भेरी अस्पतालमा आमा र बच्चाको सम्पूर्ण स्वास्थ्य जाँच (भिडियो एक्स–रे) गर्दा बच्चा सुल्टो रहेको, आमाको स्वास्थ्य अवस्थामा कुनै गम्भीर खतरा नरहेको तथा बच्चा जन्मिन अझै समय बाँकी (WOG–३९ हप्ता मात्र) रहेको निष्कर्षसहित पुनः घर पठाइएको रहेछ।

स्वास्थ्य चौकीमा ल्याई जाँच गर्दा पाठेघरको मुख पूर्ण रूपमा खुलेको, तर भ्रूणको एउटा खुट्टा र नाल बाहिर निस्किएको तथा पानीपोतो नफुटेको अवस्था देखियो । मैले परिवारलाई सम्पूर्ण अवस्था जानकारी गराउँदै यहाँ सुरक्षित प्रसूति गराउन नसकिने भएकाले पूर्वी रुकुम जिल्ला अस्पताल लैजान परामर्श दिएँ। तर परिवारले जान अस्वीकार गर्नुभयो। “म मरे पनि यहीँ मर्छु, तर सक्नुहुन्छ भने मेरो बच्चा बचाइदिनुस्” भन्दै आमा भावुक भएर रुन थाल्नुभयो।

स्थितिको गम्भीरता बुझ्दै मैले स्वास्थ्य चौकी प्रमुखलाई सम्पूर्ण जानकारी गराएँ र आवश्यक सामग्रीसहित आफैँ अटोमा उहाँलाई राखी जिल्ला अस्पतालतर्फ लाग्यौँ। जिल्ला अस्पताल नपुग्दै धौलापहिरा भन्ने स्थानमा बिहान करिब ४:३० बजे तीव्र पीडा बढ्यो। त्यही बेला पानीपोतो फुट्यो र एउटा खुट्टा तथा नाल मात्र बाहिर निस्किएको अवस्था थियो ।

मोबाइलको बत्तीको सहारामा अटोभित्रै प्रसूति गराउने निर्णय गर्नुपर्‍यो। अत्यन्त कठिन परिस्थितिमा ३ केजी ७२५ ग्राम तौलको छोराको सुरक्षित जन्म भयो। त्यो क्षणमा गहिरो सास फेर्दै भगवानलाई धन्यवाद दिएँ। आमा र बच्चा दुवैको ज्यान बचाउन सफल हुँदा अपार खुसीको अनुभूति भयो। अवस्था सामान्य रहेकाले आमा र नवजात शिशुलाई न्यानो बनाउँदै अस्पतालतर्फ अघि बढ्यौँ।

यस घटनाले समयमै परामर्श (काउन्सेलिङ) गर्ने, स्वास्थ्यकर्मी तथा अस्पतालले दिएको निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्ने र गर्भवती आमा तथा नवजात शिशुको सुरक्षामा सबै पक्ष सचेत हुनुपर्ने सन्देश दिन्छ। यस्ता जोखिमपूर्ण घटनाहरू दोहोरिन नदिन सामूहिक जिम्मेवारी र समयमै सही निर्णय अत्यावश्यक छ। यस्ता घटनाहरूले स्वास्थ्यकर्मीको पेशा केवल रोजगारी होइन, मानव जीवनप्रतिको जिम्मेवारी र सेवाभावको प्रतीक हो भन्ने कुरा सम्झाउँछन्। समयमै सही निर्णय, सहकार्य र विश्वासले अँध्यारोमा पनि जीवनको उज्यालो जन्माउन सक्छ।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार