२०८३ कार्तिक ११ गते मङ्गलवार

काँक्रीमा पेट्रोल पम्प



  • जयमान बुढामगर

रुकुमपूर्वमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ।मध्यपहाडी लोकमार्ग छेउमा अवस्थित भूमे गाउँपालिका–२ काँक्रीमा पेट्रोल पम्प सञ्चालनमा आएको हो।२०७३ भदौ १६ गतेका दिन नेपाल आयल निगमबाट बुढा आयल स्टोरले पेट्रोल पम्प सञ्चालनका लागि अनुमति लिएको थियो।

पेट्रोल पम्प सञ्चालनका लागि काम सुरु गरिएको करिब आठ वर्षपछि पम्प सञ्चालनमा ल्याउन सफल भएको बुढा आयल स्टोरका सञ्चालक रामसुर बुढामगरले जानकारी दिनुभयो।पम्पको भौतिक पूर्वाधार निर्माणका साथै पम्प सञ्चालनका लागि विभिन्न निकायबाट अनुमति र गुणस्तरीय भए नभएको चेकजाँच सफल भएपछि सोमबार देखि पम्प सञ्चालनमा ल्याइएको सञ्चालक बुढामगरले बताउनुभयो।दुई करोड रुपियाँ लगानीमा पम्प निर्माण भएको बुढामगरले बताउनुभयो।

हाल तीन हजार लिटर पेट्रोल र नौ हजार लिटर डिजेल ल्याइ बिक्री गरिराखिएको बुढा आयल स्टोरले जनाएको छ।पेट्रोल पम्पमा ३२ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल भण्डारण गर्न सक्ने क्षमताको रहेको छ।पम्प नहुँदा प्याक्ट बिक्रेता (ड्रम)बाट पेट्रोल, डिजेल बिक्री हुँदै आएको थियो।काँक्रीमा पम्प सञ्चालनमा आएपछि जिल्लामै गुणस्तरीय र निगमले निर्धारण गरेको मूल्यमै पेट्रोल, डिजेल पाउने भएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार