असोज ०२, रुकुमपूर्व । रुकुमपूर्वको रुकुमकोटमा प्रहरीले अटोभित्रबाट ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । सवारीसाधन जाँच्ने क्रममा भेटिएको उक्त मदिरा प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी खाडल खनेर नष्ट गरेको छ ।
सिस्ने गाउँपालिका–५ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडिको मोडमा नियमित सवारी चेकजाँच चलिरहेको थियो । प्रहरी र ट्राफिकको संयुक्त टोलीले रा.१ ह. ६१८६ नम्बरको अटो रोकेर जाँच गर्दा अटोबाट ४० लिटर घरेलु मदिरा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी हवल्दार गिरिराज बुढाथोकीको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोली र ट्राफिक प्रहरीको संयुक्त टोलीले अटो जाँच गरेको थियो । बरामद मदिरा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बरामद मदिरा खाडल खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका निमित्त कार्यालय प्रमुख लालबहादुर वि.क.ले जानकारी दिनुभयो ।
उहाँको अन अनुसार जिल्लामा अवैध घरेलु मदिराको उत्पादन, ओसारपसार र बिक्री–वितरण रोक्न सवारीसाधन तथा विभिन्न स्थानमा नियमित चेकजाँच हुँदै आएको छ ।














प्रतिक्रिया दिनुहोस्