२०८३ कार्तिक ११ गते मङ्गलवार

दसैँ–तिहारमा यात्रुको सहजताका लागि रुकुमपूर्वमा यात्रु सहायता कक्ष



असोज २३, दसैँ–तिहार नजिकिएसँगै जिल्ला बाहिरबाट घर फर्किने र चाडपर्व मनाएर गन्तव्यतर्फ जाने यात्रुको सहजताका लागि रुकुमपूर्वमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुले भोग्न सक्ने समस्या न्यूनीकरण गर्दै सुरक्षित र सहज यात्राको वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले सहायता कक्ष सञ्चालनमा ल्याएको छ।

रुकुमपूर्वबाट बागलुङ, पर्वत, कास्कीको पोखरा हुँदै काठमाडौंसम्म यात्रा गर्ने नागरिकलाई लक्षित गरी स्थापना गरिएको सहायता कक्षले यात्राका क्रममा आइपर्ने समस्या समाधानमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक खुमानन्द पाण्डेका अनुसार सहायता कक्षको उद्देश्य चाडपर्वका बेला यात्रुको सुरक्षा सुनिश्चित गर्नु र यात्राका क्रममा आइपर्ने समस्यामा आवश्यक सहयोग उपलब्ध गराउनु हो। सहायता कक्षमार्फत यात्रुले आफ्ना गुनासा तथा समस्या प्रहरीसमक्ष राख्न सक्नेछन्।

प्रमुख जिल्ला अधिकारी कोपिला राईले चाडपर्वका बेला नागरिकको सुरक्षित आवागमन र सहज सेवा प्रवाहका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएकी छन्। यात्रु सहायता कक्षको प्रभावकारी सञ्चालनले यात्राका क्रममा देखिने समस्या सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रुकुमकोट यातायात व्यवसायीका उपाध्यक्ष गणेश शाहले पनि यात्रुलाई सहज र सुरक्षित सेवा उपलब्ध गराउन यातायात व्यवसायी जिम्मेवार हुनुपर्ने बताएका छन्। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन प्रहरी, यातायात व्यवसायी र यात्रुबीच समन्वय आवश्यक हुन्छ।

यात्रु सहायता कक्षबाट यात्रुका समस्या तत्काल सुन्ने, आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गर्ने र कानुनविपरीतका गतिविधि रोक्न पहल गर्ने व्यवस्था प्रभावकारी नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार