२०८३ साउन १३ गते बुधवार

प्राङ्गारिक उत्पादन प्रमाणीकरण सम्बन्धी छलफल



 अर्गानिक जिल्ला रूकुम पूर्व स्थित भूमे गाउँपालिकाको सभाहल, खाबाङबगरमा प्राङ्गारिक उत्पादन प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम कार्यान्वयन गोष्ठी सम्पन्न भएको छ । मंगलबार एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रूकुम पूर्व को आयोजनामा तथा OCM नेपालकाे प्राविधिक सहयोगमा प्राङ्गारिक उत्पादन प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम कार्यान्वयन गोष्ठी सम्पन्न भएको हाे ।

उक्त गोष्ठीमा प्राङ्गारिक उत्पादनको प्रमाणीकरण प्रक्रिया, यसको आवश्यकतासँगै किसानलाई प्राप्त हुने अवसरहरूबारे विस्तृत छलफल गरिएको थियो । सहभागी किसान तथा सरोकारवालाहरूले प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत तथा व्यावहारिक उपायहरूबारे पनि सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ओ.सि.एन. नेपालका प्रमुख भाेला कुमार श्रेष्ठले प्राङ्गारिक खेतीका फाइदा, उत्पादन वृद्धिका तरिका, बजार प्रवर्द्धन, तथा अन्तर्राष्ट्रिय प्रमाणीकरणका प्रक्रियाहरूबारे प्रशिक्षण दिएका थिए भने रूकुम पूर्वकाे तीनवटै गाउँपालिका उत्पादन हुने अर्गानिक चिजबस्तुका बारेमा चर्चा गरिनुका साथै यहा उत्पादन हुने बस्तुलाई कसरी प्रमाणीकरण तथा लेबलिङ गर्न सकिन्छ । त्यसको बजार माग के हाे । बिउ उत्पादनमा जिल्लाकाे सम्भावना के छ लगायतकाे अवस्था बारे अन्तरक्रिया गरिएको छ ।

त्यसपश्चात मन्तव्यकाे क्रममा मारिङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुर बुढा मगरले रूकुम पूर्वलाई अर्गानिक जिल्ला घाेषना गरिए पनि प्रदेश सरकारले अर्गानिक जिल्ला घाेषनाकाे जस्टिफाइव हुने खालका कार्यक्रम नगरेको बताउनुभएको छ । भूमे गाउँपालिकाका संस्थापक अध्यक्ष समेत रहनु भएका बुढाले अब जिल्लाकाे बस्तुगत स्थितिलाई हेरेर सरकारले रूकुम पूर्वलाई भाङ्गाे खेती हव बनाउने गरि निती निर्माण गर्नुपर्ने बताउनुभएकाे छ । उहाले कानुनी रुपमा भाङ्गाेलाई बन्देज गरिएकाे भए पनि भाङ्गाेबाट जनताको जीवन स्तरलाई माथि उकास्न सकिने बताउनुभएको छ । उहाले भन्नुभयो “हामीले अहिले मारिङ सहकारी मार्फत भाङ्गाेकाे फलबाट तेल निकालेर बिक्रीवितरण गरिरहेका छौं । आजभोलि बजारमा भाङ्गाेकाे फल छैन । त्यो चटनी खाएर फल पाइन छाेडेकाे हैन । त्यो फललाई तेलको रूपमा बढी प्रयोग गर्दा सटेज भएको हाे ।”

कार्यक्रमका बिशेष अतिथि तथा कृषि विकास निर्देशनालय वागवानी विकास निर्देशक सन्देश धितालले रूकुम पूर्वको अर्गानिक उत्पादित चिज बस्तुलाई प्रमाणीकरण तथा लेबलिङ गर्न कुरामा लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभएको छ । निर्देशक धितालले अर्गानिकताका कुराहरू तथा गतिविधिहरूलाई खाका बनाएर अभिलेख राख्ने कुरामा जिल्लावासी तथा सम्बन्धित निकायहरूले ध्यान दिए उत्पादित बस्तुकाे प्रमाणीकरण तथा लेबलिङ गर्ने कुरामा त्यति धेरै अफ्ट्यारो नहुने बताउनुभएको छ ।

कार्यक्रमका बिशेष अतिथि तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले रूकुम पूर्व अझ त्यसमा पनि पुथा उत्तरगंगा गाउँपालिकाकाे माटो सँगै हावापानीनै अर्गानिक भएको दाबी गर्नुभएको छ । अध्यक्ष घर्तीले पुथामा आलु, स्याउ, काेदाे, फापर, जौँ, सुन्तला, विभिन्न जडिबुटी लगायत यहा पाइने थुप्रै चिज बस्तुहरू अर्गानिक भएको बताउनुभएको छ । अर्गानिक माटोलाई बजारबाट आउने मलले बिगार्छ भन्ने कुरामा अध्यक्ष घर्तीले मान्छेले चामल समेत ढुवानी गरेर खान मुस्किल भएको बताउदै बाहिरबाट आउने मल लग्ने कुराकाे सम्भावनानै नभएको बताउनुभएको छ । अध्यक्ष घर्तीले पुथामा स्याउकाे रक्सीलाई ब्रान्डिङ गर्ने कुराकाे सुरु भएको बताउनुहुदै भाङ्गाे खेती तर्फ स्थानीय सरकारले कानुन निर्माण गरेर प्रक्रिया थालेको बताउनुभएको छ । उहाले भन्नुभयो “मलाई लाग्छ हाम्रो भूमि बिग्रेको छैन । यहाका नागरिकले चामल समेत ढुवानी गरेर खान मुस्किल छ । बाहिरबाट आउने मल ढुवानी गरेर पुथा लग्ने सम्भावनै छैन मल तराईतिरै त पुग्दैन रूकुम पूर्वमा कसरी आउछ । अर्को कुरा जिल्लामा बिषादी तथा बाहिरबाट आउने मल सबैमा प्रतिबन्ध छ । हामीले बरू कानुन निर्माण गरेका छौँ । भाङ्गाे खेती यहाको प्रमुख आयस्रोत हाे । हामी अब भाङ्गाे खेती तर्फ लाग्दै छौँ ।”

भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले कार्यक्रम, बजेट र उत्पादनमा तीनवटै सरकारकाे सहकार्य अति आवश्यक भएको बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले रूकुम पूर्वमा प्रायः कुराहरू जिल्लाकै उत्पादन भएको तर सबैलाई छिटो असर गर्न सक्ने कुरा बाेइला कुखुरा जिल्लामा भित्रीरहेकाे बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले अब सबै मिलेर बाेइला कुखुरालाई कसरी हुन्छ निरुत्साहित गर्ने खालका नीति कार्यक्रम आवश्यक रहेको औंल्याउनुभएकाे छ । उहाले भन्नुभयो “हामी अर्गानिक कुरा गर्छौ । अर्गानिकतालाई जाेगाउने कुरा गर्छौं । हामी ढिडाे खान्छौ । तर हाम्रा छाेराछाेरीले भात मात्रै रूचाउन थाले, खेतीपाती गर्न छाडे । अर्गानिकता के हाे । यसले के फाइदा गर्छ भन्ने कुरामा ध्यान पुगेन याे कुराले भविष्यमा हाम्रो सन्ततिलाई ठुलो असर पार्ने सम्भावना छ । हामीले यतातिर पनि ध्यान दिन जरुरी छ ।”

कार्यक्रमका बिशेष अतिथि तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जिल्ला भित्रीने हरेक कुराहरूकाे क्वारेन्टाइन गरेर कडाइ गरि बिषादी आयातित बस्तुलाई राेक्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । अध्यक्ष रेग्मीले त्यसाे गरे जिल्लाकाे अर्गानिकता बचाउन सकिने बताउनुभएको छ । कृषिलाई छाेडेर काेही पनि सम्पन्न हुन नसक्ने कुरा उल्लेख गर्दै अध्यक्ष रेग्मीले रूकुम पूर्व जस्तो जिल्लामा कृषि एम्बुलेन्स अति आवश्यक भएको र याे प्रक्रिया प्रदेश सरकारले तत्काल बढाउनुपर्ने बताउनुभएको छ । उहाले भन्नुभयो “कृषि नै हाम्रो जीवन बचाउने माध्यम हाे एकातिर आयस्रोतकाे कुरा छ भने अर्को तिर स्वस्थ्य खानपिनकाे कुरा छ । हामी सबैको ध्यान यहा हुन जरुरी छ । सिस्ने गाउँपालिकाबाट मात्रै अमेरिका जानेकाे संख्या ६ सय पुगेको छ । तर त्यो ६ सय जना मध्य ७ देखि ८ जनाले मात्रै घर हालेका रहेछन् । बाकी त्यत्रो जनशक्ति कहाँ हरायो । हाम्रो पैसा बाहिर गएको छ । त्यो फिर्ता हुने सम्भावना छैन । याे कुरालाई राेक्नुपर्छ । हामी सबै लागौं।”

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रूकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले अब रूकुम पूर्वलाई र यहाका किसानहरूलाई कसरी कुन पक्षबाट जादा राम्रो हुन्छ अथवा फाइदा हुन्छ त्याे लय र पक्षमा हामी सबै जाने बाताबरण बनाउन आवश्यक भएको कुरा औंल्याउनुभएकाे छ । प्रमुख श्रेष्ठले टुक्रे उत्पादनलाई छाेडेर अब व्यवसायीक तरिकाले मेहनतका साथ लागे मात्रै आर्थिक सँगै स्वस्थ्य जीवनशैली अपनाउन सकिने बताउनुभएको छ । उहाले भूगोल सुहाउँदो र बजारको मागलाई हेरेर कृषि कर्ममा लागे खासै समस्या नभएको बताउनुभएको छ । उहाले भन्नुभयो ” वन र कृषि क्षेत्र एक अर्काको परिपुरक हुन । यसलाई कसरी हुन्छ कानुन नबाँझिने कृषकलाई अफ्ट्यारो नहुने गरि सुल्झाउनु पर्ने देखिन्छ । अहिले वनकाे कानुन निकै पुरानो र झन्झटिलो हुदा थुप्रै किसानहरूलाई बाधा पुगेको छ । यसले समग्र देश र कृषि कर्म गर्नेलाई हित गर्दैन सबै यतातिर पनि ध्यान दिउ ।”

कार्यक्रमका अध्यक्ष तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रूकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले अर्गानिकता जाेगाउन र यसको प्रबर्द्धन गर्न कार्यालय लागि परेको बताउनुभएको छ । प्रमुख पौडेलले अहिले कार्यालय किसान सँग नजिक भएर तथ्यांक संकलनकाे कामलाई तिव्रता दिएको बताउनुहुदै डेटा भए मात्रै प्रतिफल निकाल्ने गरि काम गर्न सकिने बताउनुभएको छ । प्रमुख पौडेलले कार्यक्रमलाई चासोका साथ लिएर उपस्थित हुने प्रमुख अतिथि, बिशेष अतिथिहरू, विभिन्न कृषि फार्मका सञ्चालक तथा अगुवाहरू, किसान दाजुभाइ दिदीबहिनी र पत्रकारहरू सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाले यस किसिमका कार्यक्रमहरूले स्थानीय उत्पादनलाई गुणस्तरीय बनाउँदै व्यावसायिक कृषि प्रणालीलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रूकुम पूर्वका कार्यालय प्रमुख डिल्लीराज पौडेलकाे अध्यक्षतामा सरू भएको कार्यक्रममा जिल्ला समन्वय समिति रूकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । भने सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर र कृषि विकास निर्देशनालय वागवानी विकास निर्देशक सन्देश धितालकाे बिशेष आतिथ्यता रहेको थियो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रूकुम पूर्वका अधिकृत खिम बहादुर राेकायकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सहजीकरण एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, रूकुम पूर्वका अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार