२०८३ कार्तिक १२ गते बुधवार

ध्रुव पुन मगरले गरे कांग्रेस रुकुमपूर्वको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा



रुकुमपूर्व । नेपाली कांग्रेसका नेता ध्रुव पुन मगर ‘गुमाने’ले रुकुमपूर्वको जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कार्तिक ८ गते जारी प्रेस विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका पुनले जिल्लामा दशकौँदेखि एउटै राजनीतिक शक्तिको प्रभाव कायम रहँदा विकास, अवसर र न्यायका सवालमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गरेका छन्।

उनले २०४८ सालदेखि हालसम्म जिल्लाको राजनीतिक नेतृत्व कम्युनिस्टहरूको प्रभावमा रहँदै आएको उल्लेख गर्दै अब रुकुमपूर्वमा राजनीतिक परिवर्तन र नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन्।

‘रुकुमपूर्ववासीलाई कसैको भोट बैंक होइन, आफ्नै अधिकारका मालिक र स्वाभिमानी नागरिक बनाउनु आजको ऐतिहासिक आवश्यकता हो,’ पुनले विज्ञप्तिमा भनेका छन्।

पुनले विगतका राजनीतिक आन्दोलन र जनयुद्धका क्रममा सर्वसाधारणले गरेको त्याग तथा बलिदानअनुसार जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको टिप्पणीसमेत गरेका छन्। राजनीतिक नेतृत्व र सीमित व्यक्तिको जीवनमा परिवर्तन आए पनि आम नागरिकका समस्या समाधान हुन नसकेको उनको दाबी छ।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई रुकुमपूर्वमा नयाँ ढंगले अघि बढाउनुपर्ने पुनको भनाइ छ। उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै संगठनलाई सर्वसमावेशी, सुदृढ र जनतासँग जोडिएको बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षा वा पद प्राप्तिको चाहनाभन्दा पनि पछाडि पारिएका नागरिकको आवाज उठाउने र कांग्रेस संगठनलाई गाउँ–गाउँ तथा टोल–टोलसम्म पुनर्जीवित गर्ने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गरेका छन्।

पुनले जिल्लामा पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउन अग्रज नेताहरूको अभिभावकत्व, समकालीन नेताकार्यकर्ताको साथ र युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। आफूले नेतृत्वको जिम्मेवारी पाएमा पार्टीका नेता तथा कार्यकर्ताको विश्वास र भरोसा कायम राख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार