२०८३ साउन १३ गते बुधवार

हावाहुरीले विद्यालय भवनको छानो उडायो, करिब ६ लाख बराबरको क्षति



रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ मा रहेको जनसहयोग माध्यमिक विद्यालय, रिवाङ चौरको भवनको छानो शनिबार राति परेको पानी सहितको हावाहुरीले गर्दा विद्यालयकाे करिब ६ लाख बराबरको क्षति भएको छ।

हावाहुरीले भवनको छानाका दार भाँचिए संगै जस्तापाता उडाउदा साे विद्यालयको भौतिक संरचनामा क्षति पुगेको विद्यालयका प्रधानध्यापक गोकेन्द्रजंग मल्लले जानकारी दिनुभयो।उहाँका अनुसार हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले केही समय परीक्षा अवरुद्ध भएको थियो। तर, वैकल्पिक व्यवस्था गर्दै अर्को भवनमा परीक्षा सञ्चालन गरिएको बताउनुभयो।

प्रधानाध्यापक मल्लका अनुसार विद्यालय भवन क्षतिग्रस्त भएकाले विद्यार्थी र शिक्षकहरूलाई कक्षाकोठा अभाव भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काले मल्लले विद्यालयको क्षतिको विवरण संकलन गरेर चाँडै नै बैठक बस्ने र पुनर्निर्माण प्रक्रिया अघि बढाउने बताउनुभयो।साथै, क्षतिको विवरण सम्बन्धित निकायमा बुझाइने र तत्काल पुनःनिर्माणका स्थानीय सरकार संग पहल कदमी अगाडि बढाउने जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार