२०८३ बैशाख ५ गते शनिवार

सडकले छोयो काजरजङ्ग, अब पेल्मा छ नक्सामा



पुथा उत्तरगङ्गा गाउँपालिका–५ काजरजङ्ग अब औपचारिक रूपमा सडक सञ्जालमा जोडिएको छ। गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले हिजो एक कार्यक्रमबीच रिवन काटेर सडकको उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा उपाध्यक्ष नरपुरा बुढा पुन, प्रमुख प्रशासकीय अधिकृत ध्रुव विक, नेकपा माओवादी केन्द्रका गाउँपालिका इञ्चार्ज जिताराम कामी, पूर्व अध्यक्ष हर्कबहादुर कामी लगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घर्तीले अर्को वर्षसम्म पेल्मा गाउँलाई पनि सडक सञ्जालमा ल्याउने लक्ष्य रहेको बताउनुभयो। “पेल्मा हाम्रो गाउँपालिकामै सबैभन्दा विकट बस्ती हो। काजरजङ्गसम्म सडक पुगेपछि अब पेल्मासम्म जोड्न हामी प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो।

अध्यक्ष घर्तीका अनुसार सडक सञ्जालले स्थानीय उत्पादन निर्यातमा टेवा पु¥याउने छ। “हामीकहाँ उत्पादन त हुन्छ, तर बजारमा पुर्‍याउन नसक्दा आयातमुखी समाज बनेको छ। अब हामी स्थानीय उत्पादनको निर्यातमा केन्द्रित हुन्छौं,” उहाँले जोड दिनुभयो।

यसै आर्थिक वर्षको अन्त्यसम्म वडा नं. ८ चारगाउँ, वडा नं. ९ खारबाङ, वडा नं. ४ अर्जल र वडा नं. ३ रन्मासम्म सडक पुर्‍याउने योजना रहेको पनि अध्यक्ष घर्तीले जानकारी दिनुभयो।

कार्यक्रममा इञ्चार्ज जिताराम कामीले काजरजङ्गसम्म सडक पुगेसँगै पेल्मा, हिम र गुइबाङ जस्ता बस्तीलाई पनि लाभ पुग्ने बताउनुभयो। “पेल्मामा उत्पादन हुने स्याउ अब सजिलै बजारसम्म लैजान सकिनेछ,” उहाँको भनाइ थियो।

स्थानीयवासी लक्षिण कुमार बुढाले सडकले गाउँमा गाडी देख्ने सपना पुरा गरिदिएको भन्दै उत्साह व्यक्त गर्नुभयो। “हामीले सोचेका थियौँ कि हाम्रो पालामा गाडी आउँदैन। तर आज त्यो सपना पुरा भएको छ,” उहाँले खुसी साट्नुभयो।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार