२०८३ साउन १३ गते बुधवार

नाईगाडमा आगजनी गर्ने आरोपी हिरालाल दमाई प्रहरी नियन्त्रणमा



रुकुमपूर्वकाे सिस्ने गाउँपालिका–२, नाईगाडमा सोमबार साँझ एक व्यक्तिले मादक पदार्थ सेवन गरी आफ्नै घरगोठमा आगो लगाएका छन्।

चाउरे दमाईका छोरा ३१ वर्षीय हिरालाल दमाईले राति ८:४५ बजेको समयमा आफ्नै गोठमा आगो लगाएका हुन्। आगलागी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय छिमेकीहरूले तत्काल उद्धार कार्य अघि बढाएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले अन्वेषण खबरलाई जानकारी दिनुभयाे।

केसीका अनुसार पशुचौपायाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए पनि घरगोठ र भित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको बताउनुभयो । गाेठमा लागेकाे आगो राति १०:३० बजेसम्ममा पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको उहाँले बताउनुभयो ।

मानवीय र पुश चौपायाकाे क्षति नभए पनि आगलागीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। आगो लगाउने हिरालाल दमाईलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार