२०८३ साउन १४ गते बिहिवार

२०२८ काे पुरानो शिक्षा ऐनले विद्यार्थीलाई दुःख छ : अध्यक्ष रसाईली



रुकुम पूर्व, वैशाख ५ – नेपाल शिक्षक महासंघको आन्दोलनले दुई साता नाघिसक्दा पनि सरकारले समुचित सुनुवाइ नगरेको भन्दै अखिल क्रान्तिकारी रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाईलीले कडा आलोचना गर्नुभएको छ। उहाँले २०२८ सालकाे पुरानो शिक्षा ऐनका कारण प्रदेशका विद्यार्थीहरू कठिनाइमा परिरहेको भन्दै सरकारको लापरवाहीले शिक्षा क्षेत्र नै संकटमा परेको जिकिर गर्नुभएको छ।

हरेक पाँच वर्षमा अद्यावधिक हुनुपर्ने शिक्षा प्रणाली अझै पनि २० वर्ष पुरानो ढाँचामा अडिएको छ। “यही कारणले हाम्रा विद्यार्थीहरू राम्रो शिक्षा पाउनबाट वञ्चित छन्। अन्ततः वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा पसिना बगाउन बाध्य छन्,” उहाँले भन्नुभयो।

नेपाल शिक्षक महासंघले सरकारले नयाँ शिक्षा ऐन ल्याउन पहल नगरेको भन्दै देशव्यापी आन्दोलन गरिरहेको छ। आन्दोलनका कारण धेरै विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ, जसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ। यसै सन्दर्भमा रसाईलीले भने, “सरकारको लापरवाहीले आन्दोलन लम्बिएको हो, शिक्षकहरूको माग सुन्नुको साटो सरकारले बेवास्ता गर्दैछ।”

अखिल क्रान्तिकारीले शिक्षामा फैलिएको निजीकरण, माफियाकरण र व्यापारिकरणका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै अध्यक्ष रसाईलीले थप्नुभयो, “शिक्षा प्रणाली जनमुखी, वैज्ञानिक र समानतामूलक हुनुपर्छ। विद्यार्थीलाई असर पर्ने कुनै पनि अवस्था आयो भने, त्यसको सम्पूर्ण जिम्मेवारी सरकार आफैंले लिनुपर्छ।”

उहाँले शिक्षक आन्दोलनलाई कमजोर पार्ने सरकारी प्रयासको विरोध गर्दै शिक्षालाई व्यवसायिकभन्दा पनि सेवामूलक बनाउन आग्रह गर्नुभयो। साथै, अखिल क्रान्तिकारीले आवश्यक परेमा सरकारविरुद्ध थप संघर्षमा जान पनि पछि नहट्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार