२०८३ कार्तिक १२ गते बुधवार

पूर्वी रुकुमकाे महोत्सवमा ८ गते नायक प्रकाश सपुतको विशेष रहने



रुकुम पूर्व, वैशाख ६ – लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा अहिले सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भव्य महोत्सव संचालनमा रहेको छ। पूर्वी रुकुम सास्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ नाम दिइएको उक्त महोत्सव रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा जारी छ, जसले स्थानीय उत्पादनको प्रवर्द्धन, संस्कृति संरक्षण, तथा पर्यटन सम्भावनाको उजागर गर्ने लक्ष्य राखेको छ।

यसै महोत्सवको विशेष आकर्षणका रूपमा चर्चित गायक तथा सामाजिक सन्देशयुक्त गीतका सर्जक  तथा नायक प्रकाश सपुत वैशाख ८ गते, सोमबार रुकुमकोटमा प्रस्तुति दिन आउने भएका छन्। आयोजक संस्था अठाले ग्रुप प्रा.लि. का सञ्चालक तथा महोत्सव आयोजक समिति अध्यक्ष सुधन रेग्मीले जानकारी दिँदै सपुतको आगमनले महोत्सवलाई थप उत्साहजनक बनाउने विश्वास व्यक्त गरे।

प्रकाश सपुत नेपाली सांगीतिक क्षेत्रका एक चर्चित तथा लोकप्रिय नाम हुन्। उनले गाउँ समाजको कथा बोकेका, सामाजिक सन्देश दिने, र मौलिकता झल्काउने गीतहरू प्रस्तुत गर्दै आएका छन्। ‘बोल माया’, ‘पीर’, ‘गलबन्दी’ जस्ता चर्चित गीतका सर्जक सपुतको प्रस्तुति सुन्न तथा हेर्न स्थानीय दर्शक मात्र होइन, आसपासका जिल्लाबाट समेत दर्शकहरूको उपस्थिति अपेक्षित गरिएको छ।

त्यसअघि वैशाख ७ गते आइतबार, नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक श्रीकृष्ण बम मल्ल, चर्चित गायिका पूर्णिमा सेन ठकुरी तथा मोडल सगुन थापा लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा सांस्कृतिक कार्यक्रम, नृत्य, गायन, फेशन शो लगायतका विविध प्रस्तुति समावेश छन्।

यस महोत्सवमा पूर्वी रुकुमको कृषि उपज, हस्तकला, स्थानीय उद्योग, घरेलु उत्पादन, तथा अन्य व्यापारिक सामग्रीको प्रदर्शनी र बिक्री समेत गरिँदैछ। महोत्सवले कृषक, व्यवसायी, पर्यटक तथा स्थानीय समुदायलाई एउटै थलोमा जोड्ने काम गरेको आयोजकको भनाइ छ।

पूर्वी रुकुमको प्राकृतिक सुन्दरता, जैविक विविधता र ऐतिहासिक महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव वैशाख १० गतेसम्म संचालन हुनेछ।

आयोजक समितिले सम्पूर्ण पूर्वी रुकुमवासी, आसपासका जिल्लावासी, तथा देशभरबाट आगन्तुकहरूलाई महोत्सवमा सहभागिता जनाई सांस्कृतिक धरोहरको जगेर्ना र स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार