२०८३ साउन १३ गते बुधवार

अनुग्रह AGFN मण्डली रुकुमकोटको वार्षिक साधारणसभा सम्पन्न



रुकुमकोट — अनुग्रह AGFN मण्डली, रुकुमकोटले आफ्नो वार्षिक साधारणसभा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा मण्डलीका पाष्टर रुबेन विश्वकर्माले वार्षिक प्रतिवेदन, आर्थिक विवरण, र आगामी योजना प्रस्तुत गर्नुका साथै बालबालिकाहरुलाई लक्षित विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो।

पाष्टर विश्वकर्माका अनुसार, ४–५ वर्ष, ६–८ वर्ष, र ९–१२ वर्ष समूहमा विभाजन गरी बालबालिकाहरुलाई आत्मिक, शैक्षिक र नैतिक विकासमा टेवा पुग्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको थियो। वार्षिक परीक्षा परिणामको प्रकाशनसँगै कक्षागत रूपमा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र उत्तीर्ण स्थान हासिल गर्ने बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा नाचगान, प्रार्थना, तथा राज्यले ख्रिस्टियन समुदायप्रति देखाएको विभेदप्रति गम्भीर ध्यानाकर्षण पनि गरिएको थियो। साथै, आगामी योजनाहरूको खाका प्रस्तुत गर्दै मण्डलीले पारदर्शी ढंगले आम्दानी–खर्चको विवरण समेत सार्वजनिक गरेको छ।

मण्डलीका अनुसार, आर्थिक स्रोतहरूको प्रमुख आधारमा दशांस भेटि, मिशन भेटि, प्रतिज्ञा भेटि, विशेष भेटि लगायतका स्वेच्छिक भेटिहरु रहेका छन्, जुन विश्वासीहरूले बाइबलको शिक्षाअनुसार आफ्नै हृदयले निर्देशित भएर प्रदान गर्छन्।

मण्डलीले आफ्नो प्रशासन सञ्चालन गर्न पाहुना सत्कार, भौतिक संरचना, तालिम, बिपन्न परिवार सहयोग, सेवा–सुविधा, पानी–बिद्युत–सामान मर्मत लगायतका खर्चहरू व्यवस्थित गर्दै आएको छ। साथै पूर्ण समय दिने पाष्टरलाई समेत सानो टेवा स्वरूप सहयोग गर्ने परम्परा मण्डलीले कायम राखेको स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार