२०८३ साउन १४ गते बिहिवार

बर्खे बाली लगाउन सुरु



एकातिर पाकेका हिउँदे बाली भित्र्याउने चटारो, अर्काेतिर सुरु भएको वर्षासँगै बर्खे बाली लगाउने तयारी रहेका छन् । जिल्ला भरका किसानहरू खेतबारीमै व्यस्त छन् । अबको सिजन हिउँदे बाली भित्र्याउने र बर्खे बाली लगाउने काम सुरु भएकोे भूमे गाउँपालिका–३ का पूर्णबहादुर बिक बताउनुभयो ।

गहुँ, जौ, मसुरो, चना, केराउजस्ता हिउँदे बाली भित्र्याउने क्रममा कतिपय किसानले बर्खे बालीको जोत्नेदेखि बीउ छर्नेसम्मका काम थालिसकेको बिकले सुनाउनुभयो । पुथाउत्तरगंगाका किसान लिल समालले भन्नुभयो, “हामीसँग अहिलेसम्म पनि हलगोरु नै छ । मलको लागि गाईबस्तुको गोबर, स्याउला र दिसापिसाब मिसाएर बनाएको मल प्रयोग गर्छाैँ भने बीउ पनि आफैं उब्जाएको खेतमा रोप्ने गर्दछौं ।”

तराईको समथर भूभागमा हाते ट्याक्टर, उन्नत बीउ, र रासायनिक मलको प्रयोग बढ्दै गएको भए पनि रुकुमपूर्वका किसानहरू भने अझै परम्परागत शैली र अर्गानिक उत्पादनमै टिकेका छन् । प्रविधिको सहजता नहुनु, बजारसम्मको पहुँच कठिन हुनु र सरकारी कार्यक्रम गाउँमा नपुग्नु किसानहरूका साझा गुनासो भएको अर्का स्थानीय लालबहादुर बिकले बताउनुभयो ।

खेतीको मुख्य सिजन सुरु भएकाले अहिले गाउँभर एक किसिमको उर्जाशील माहोल छ । खेतमा काम गर्ने हातहरू व्यस्त छन् । मेहनतको फल राम्रो हुने अपेक्षामा किसानहरू अगाडि बढिरहेका छन् ।

 

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार