रुकुम पूर्व, वैशाख १६ — पुथाउत्तरगङ्गा गाउँपालिकामा पहिलोपटक पालिका स्तरीय बाल भेला सफलतापूर्वक सम्पन्न भएको छ।गाउँपालिकाको आयोजनामा, नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र ९मिक नेपाल० र युनाइटेड मिशन टु नेपाल यु एम एन रुकुमपूर्व क्लस्टरको साझेदारीमा सञ्चालित “सक्षम २” परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यहि वैशाख १४ देखि १६ गतेसम्म भेला आयोजना गरिएको हो।
भेलामा बालबालिकाहरूलाई बाल अधिकार र कर्तव्य, योजना तर्जुमा प्रक्रिया, नीति तथा बजेट निर्माणका आधारभूत पक्षबारे जानकारी दिइएको थियो।विभिन्न संवाद र सहभागी अभ्यासमार्फत उनीहरूले आफूलाई चाहिएको कार्यक्रमहरूको परिकल्पना गर्दै भोटिङमार्फत प्राथमिकिकरण गरेका थिए।
गाउँपालिकाका १४ वटै वडाबाट सहभागी ४२ जना बालबालिकाहरूले आगामी वार्षिक नीति तथा बजेट तर्जुमा प्रक्रियामा आफ्नो सार्थक सहभागिता सुनिश्चित गराउने उद्देश्यसहित आफ्ना सुझाव प्रस्तुत गरेका थिए।सो अवसरमा पालिका स्तरीय बाल सञ्जाल पनि गठन गरिएको छ।
कार्यक्रमको अन्तिम दिन गाउँपालिका प्रवक्ता टिकाशाही घर्ति मगरको अध्यक्षतामा समापन कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिक,वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बालबालिकाले समापन कार्यक्रममा २७ बुँदे मागपत्र प्रस्तुत गर्दै विभिन्न वडास्तरीय समस्याहरू र समाधानका उपायहरू बारेमा प्रत्यक्ष तथा फोनमार्फत वडाध्यक्षहरूसँग संवाद गरेका थिए।वडाध्यक्षहरूले बालबालिकाका मागहरूलाई वडास्तरको योजना तर्जुमा प्रक्रियामा समावेश गरी पालिकालाई सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए।
गाउँपालिका प्रवक्ता घर्ति मगरले बालबालिकाले उठाएका मागहरूलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे। मिक नेपालका कार्यक्रम संयोजक कुमार बीएमले यो बाल भेला पुथाउत्तरगङ्गा गाउँपालिकाको सन्दर्भमा ऐतिहासिक उपलब्धि भएको बताए।
बालबालिकाबाट प्रस्तुत २७ बुँदे प्रमुख मागहरू
१ प्रत्येक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था
२ हरेक वर्ष पालिका स्तरीय बाल भेला
३ बाल सशक्तिकरणका लागि नियमित तालिम
४सबै वडामा कक्षा १२ सम्म अध्ययन सुविधा
५दुर्व्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम
६ बालविवाह न्यूनीकरणका लागि प्रहरीको सक्रियता
७ जनप्रतिनिधि र बालबालिका बीच नियमित समन्वय
८ विद्यालयहरूमा विपद् पूर्वतयारी कार्यक्रम
९ जोखिमयुक्त बाटाहरूको व्यवस्थापन
१० विद्यालयमा खेलकुद सामग्री र खेलमैदान
११ छात्र–छात्राका लागि अलग शौचालय
१२ शिक्षकहरूलाई बालमैत्री तालिम
१३ बालबालिका र जनप्रतिनिधिबीच अन्तक्र्रिया
१४ शिक्षा समितिको मासिक विद्यालय अनुगमन
१५ बाल क्लब कार्यक्रमको लागि सहजकर्ता र बजेट
१६ बालहिंसा, साइबर अपराध, श्रम अन्त्यका कार्यक्रम
१ पोषणयुक्त दिवा खाजाको व्यवस्था
१८ अस्वास्थ्यकर खाना निषेध नीति
१९ अनाथ बालबालिकाका लागि आर्थिक सहयोग
२० अपाङ्गता मैत्री र बालमैत्री विद्यालय
२१ बाल सञ्जालहरूको वार्षिक समीक्षा
२२ फोहोर व्यवस्थापन
२३अन्तरविद्यालय प्रतियोगिता
२४ उत्कृष्ट समूहलाई पुरस्कार
२५ मानसिक समस्या भएका बालबालिकाको उपचार
२जाँडरक्सी सेवन गर्ने अभिभावक भएका बालबालिकाको हेरचाह
२७बालबालिकाको संरक्षणका लागि विशेष कार्यक्रम

















प्रतिक्रिया दिनुहोस्