२०८३ कार्तिक १२ गते बुधवार

भौतिक संरचना बलियो भएन



देशको समृद्धि र नागरिकको सुविधा बलियो भौतिक पूर्वाधारमा निर्भर गर्दछ । सडक, पुल, भवन, विद्युत, खानेपानी र सञ्चारजस्ता पूर्वाधारहरू देशको विकासको आधारशिला हुन् । यस्ता संरचनाहरू बलियो, सुरक्षित र दिगो हुनु अत्यावश्यक छ ।
नेपालमा मात्र नभई रुकुमपूर्वमा पछिल्ला वर्षहरूमा विकास निर्माणका कामहरू बढेका छन् । तर धेरैजसो निर्माणहरू गुणस्तरहीन र अस्थायी देखिन्छन् । केही वर्षमै सडक भत्किनु, पुलमा दरार आउनु वा भवन असुरक्षित ठहरिनुजस्ता घटनाहरू सामान्य भएका छन् । यसले बजेटको दुरुपयोग मात्र होइन, जनधनको क्षति पनि निम्त्याउँछ ।
भौतिक संरचना बलियो बनाउन सरकार, निर्माण कम्पनी, प्राविधिककर्मी र सर्वसाधारण सबैको भूमिका हुन्छ । निर्माणमा पारदर्शिता, मापदण्डको कडाइ, गुणस्तरीय सामग्रीको प्रयोग, र नियमित अनुगमन अनिवार्य हुनुपर्छ ।
समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न बलियो भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो । अब ढिलासुस्ती र लापरवाही होइन, इमान्दार प्रयास र दीर्घकालीन सोचसहित अगाडि बढ्नुपर्छ ।
यो महिनामा सिस्ने गाउँपालिका–५ मा रहेको धाउने स्थित क्रसर उद्योग, भूमे गाउँपालिका–२ खाबाङ बगरमा निर्माण भइरहेको कलभर्ट, भूमे–७ गुनाम आधारभूत विद्यालयमा निर्माण भइरहेको भवन लगायतको भौतिक संरचना सम्बन्धी विकास निर्माणको अवस्थाबारे जिल्ला अनुगमन समितिले अनुगमन ग¥यो । तर क्रसर उद्योगमा गुणस्तरहिन बालुवा, गिट्टी उत्पादन गर्नुका साथै उद्योग सञ्चालनको लागि पूरा प्रक्रिया पूरा नगरेको अनुगमन समितिले फेला पारेको छ । क्रसरबाट कमसल खालको मालवस्तु वितरणले गर्दा भौतिक संरचना निर्माण असर पार्ने देखिएको छ । निर्माण व्यवसायले पनि गुणस्तर भएको मालवस्तु प्रयोग गर्न नसकेको पाइएको छ ।
खाबाङ बगरको कलभर्ट र गुनामको विद्यालय भवन निर्माणमा कमसल प्रकारको गिट्टी र बालुवा प्रयोग गर्दै आएको पाइएको अनुगमन समितिले जनायो । त्यसपछि अनुगमन समितिले गुणस्तर भएको मालवस्तु प्रयोग गर्नु भनी दिर्देशन दिएपछि निर्माण व्यवसायले गुणस्तर मालवस्तु प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भने धाउनेको क्रसर उद्योगलाई उद्योग सञ्चालनको आवश्यक कागजात माग गर्नुका साथै गुणस्तर मालवस्तु उत्पादन गर्न अनुगमन समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार