रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलममा सञ्चालित ‘मिडियासँग नागरिकको साझा सवाल’ कार्यक्रममा स्थानीयले विकास, सेवा प्रवाह र जातीय विभेदकाे विषयमा स्पष्ट प्रश्न उठाएका छन्। ‘जनताको पक्षमा अन्वेषण’ भन्ने नाराका साथ सञ्चालित अन्वेषण खबरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम गाउँपालिकाको आर्थिक सहयोग र सप्तरंगी मल्टिप्रोज प्रा.लि. को व्यवस्थापनमा आयोजना गरिएको थियो।
साझा सवाल कार्यक्रममा बोल्दै स्थानीय ममता विकले जातीय विभेद अझै कायम रहेको बताउनुभयाे। “सरकारी तहमा रहेका व्यक्तिहरूबाट पनि दलितप्रति विभेद हुने गरेको छ भनी विकले बताउनुभयो ।
यस्तै फल्नैका नागरिक पृथ्वी छन्त्यालले सडक, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा गाउँपालिकाले गम्भीरता देखाउनुपर्ने बताउनुभएको छ।
अर्का स्थानीय अनिल सुनारले सदरमुकामको विवाद र सहिद मार्गको अवस्थाबारे प्रश्न उठाउँदै सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभएकाे छ।
राजबहादुर बुढा मगरले विकास निर्माणका काम गुणस्तरीय नभएको गुनासो गर्दै जनताको मागअनुसार योजना कार्यान्वयन नभए गाउँ कार्यपालिकाकाे कार्यालय घेराउ हुने चेतावनी दिएका छन् ।
जवाफ दिने क्रममा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुनले जनताका मागप्रति गाउँपालिका गम्भीर रहेको र योजनाहरू नागरिकको सुझावअनुसार अगाडि बढाइने बताउनुभएकाे छ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जातीय विभेदविरुद्ध कानुनी प्रावधानबारे जानकारी गराउँदै सेवा प्रवाहमा पारदर्शिता कायम गरिएको दाबी गर्नुभएकाे छ।
वडाध्यक्ष दिलमान पुन मगरले नागरिकसँग प्रत्यक्ष संवादको अवसरलाई सकारात्मक रूपमा लिँदै सेवा सुधारका लागि प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।भने नागरिकको सक्रिय उपस्थिति रहकाे कार्यक्रमकाे सञ्चालन अन्वेषण खबरका प्रतिनिधि रुवेण विश्वकर्माले गर्नुभएको थियाे।
















प्रतिक्रिया दिनुहोस्