२०८३ साउन १२ गते मङ्गलवार

पुथाउत्तरगंगाका दुई सामुदायिक विद्यालयमा आत्मरक्षा तालिम सुरु



तकसेरा



रुकुमपूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गतका दुई सामुदायिक विद्यालयमा किशोरीहरूलाई लक्षित गर्दै दुई महिनासम्म सञ्चालन हुने आत्मरक्षा तालिम सुरु भएको छ।

साे गाउँपालिकाकाे वडा नम्बर १० स्थित महेन्द्र माध्यमिक विद्यालय, तकसेरा र ५ स्थित देउराली माध्यमिक विद्यालय, हुकाममा यहीँ वैशाख २५ गतेदेखि असार २५ गतेसम्म सञ्चालन हुने तालिम लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुर दाङको आयोजना र सहजीकरणमा सुरु भएको हो।

तालिममा दुबै विद्यालयका गरी एक सय जना बालबालिका तथा किशोरीहरू सहभागी छन्। सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरिराज पाण्डेका अनुसार आत्मरक्षा तालिमको उद्देश्य विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै उनीहरूलाई अनुशासित, आत्मविश्वासी र सुरक्षित बनाउनु हो। “यो तालिमले किशोरीहरूलाई संकटको अवस्थामा आत्मरक्षा गर्न सक्षम बनाउँछ,” प्रमुख पाण्डेले बताए।

तालिममा WTF तेक्वान्दो र ITF तेक्वान्दो विधिहरू समावेश गरिएको छ। तकसेरा महेन्द्र माविमा प्रशिक्षक बसम मल्लले तालिम दिइरहेका छन् भने हुकाम देउराली माविमा लोचन क्षेत्रीले प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रमको उद्घाटन सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख पाण्डेले गरेका थिए। कार्यक्रममा महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार