रुकुमपूर्वको स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले सम्बोधन परियोजना सुरु गरिएको छ। फेयरमेड फाउण्डेशन नेपाल र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्वको साझेदारीमा तीन वर्षका लागि परियोजना सञ्चालनमा ल्याइएको हो। परियोजना सिस्ने, भूमे र पुथाउत्तरगंगा गरी तीनवटै गाउँपालिकामा सञ्चालन हुने भएको छ।
गत चैत्र महिनादेखि प्रारम्भ भएको परियोजनाले दुर्गम बस्तीमा स्वास्थ्य सेवा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा सुत्केरी, गर्भवती महिला र शिशु स्वास्थ्यमा विशेष ध्यान केन्द्रित गर्नेछ। परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि बुधबार सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित चाइनिज होटेलमा सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक सम्पन्न भएको हो।
बैठकमा मिक नेपाल रुकुमपूर्वका सचिव जयमान बुढामगरले संस्थाले हालसम्म गरेका कार्यहरूको विवरण दिँदै आगामी योजनाबारे जानकारी गराउनुभएकाे थियाे। यस्तै उपाध्यक्ष वेदना बुढामगरले संस्था शिक्षा, स्वास्थ्य, कृषि तथा जनचेतनामूलक क्षेत्रमा क्रियाशील रहेको जानकारी दिनुभयाे।
स्वास्थ्य कार्यालय रुकुमपूर्वका प्रमुख पुस्कल श्रेष्ठले परियोजनाले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्नेमा जोड दिनुभयाे। उहाँले स्वास्थ्य कार्यालय तथा सम्बन्धित संघसंस्थाबीचको सहकार्यमार्फत जनस्वास्थ्य सुधार गर्न सकिने बताउनुभयाे। सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले संस्थाले पालिकालाई समयमै कार्यक्रम र बजेटको जानकारी गराउन सुझाव दिए। उनले संस्थाले कार्यक्रमसहितको बजेट पालिकासमक्ष समयमै पेस गरेमा दोहोरो योजना र खर्चको समस्या टर्न सकिने धारणा व्यक्त गर्नुभयाे।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रमा काम गर्दा संस्थाहरूले जनचेतना अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने बताउनुभयाे। उहाँले सिस्ने–१ जस्ता दुर्गम स्थानमा गर्भवती, सुत्केरी महिला तथा शिशुहरूका लागि केन्द्रित कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयाे।
जिल्ला समन्वय समिति (जिसस) का प्रमुख मेघबहादुर श्रेष्ठले संस्थाले स्थापना कालदेखि नै जनतामुखी काम गर्दै आएको उल्लेख गर्दै समाजमा विद्यमान अन्धविश्वास, बालविवाहजस्ता विकृति न्यूनीकरण तथा आमाको स्वास्थ्य सुधारतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभएकाे हाे। जिसस उपप्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी न्यौपाने, सिस्ने गाउँपालिकाका उपाध्यक्ष रेउले लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा मिक नेपालकी अध्यक्ष ललिता बुढामगरको अध्यक्षता रहेको थियो। कार्यक्रम सञ्चालन सम्बोधन परियोजनाका डिएमटीओ मदन शर्माले गरेका थिए।













प्रतिक्रिया दिनुहोस्