२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वमा फेयरमेड र मिक नेपालको साझेदारीमा स्वास्थ्य परियोजना प्रारम्भ, तीनवटा गाउँपालिका समेटिने



रुकुमपूर्व, दुर्गम क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने लक्ष्यसहित फेयरमेड फाउण्डेशन नेपाल र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को संयुक्त पहलमा रुकुमपूर्वको भूमे गाउँपालिकामा स्वास्थ्य परियोजना सुरु गरिएको छ।
गत चैत्र महिनादेखि सुरु भएको तीनवर्षे परियोजनाको औपचारिक प्रारम्भ भूमे गाउँपालिकाको सभाहलमा एक कार्यक्रममार्फत गरिएको हो।कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत देबिलाल विकलगायत विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

मिक नेपालका उपाध्यक्ष वेदना बुढामगरले परियोजनाले रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका दुर्गम बस्तीमा स्वास्थ्य सेवा विस्तार गर्ने बताउनुभयो। “हामी सुत्केरी सेवा, गर्भवती महिलाको हेरचाह, शिशु स्वास्थ्य तथा समुदायमा जनचेतना अभिवृद्धिमा केन्द्रित भएर अघि बढेको उपाध्यक्ष बुढामगरले बताउनुभयो।

कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले फेयरमेड र मिक नेपालले विगतमा पनि उल्लेखनीय काम गर्दै आएको बताउनुभयो।विगतका सफल गतिविधिहरूको निरन्तरतासँगै गाउँपालिका र सो संस्था बिच अझ सहकार्य र समन्वय गर्दै जनताको स्वास्थ्य सुधारमा लाग्ने बताउनु भएको छ।आगामी दिनहरुमा गाउँपालिका र फाउण्डेशन नेपाल र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को साझेदारिमा काम गर्दै जाने बताउनु भएको छ।

वडा नं. ५ का अध्यक्ष टेकप्रसाद बुढामगरले अझै पनि जनचेतनाको अभाव रहेको भन्दै परियोजनाबाट सबै वडामा स्वास्थ्य सम्बन्धी सशक्त चेतना फैलिने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले परियोजनाले स्थानीय बर्थिङ सेन्टरहरूमा करुवा भान्छा निर्माण, सुरक्षित आवास व्यवस्थापनजस्ता महत्वपूर्ण काम गर्दै आएको जानकारी दिनुभयो।“गर्भवती महिलाले स्वास्थ्य चौकीमा बस्न सक्ने सहजता परियोजनाले नै दिलाएको बताउनुभयो।

परियोजनाले विशेषगरी आर्थिक, भौगोलिक र सामाजिक हिसाबले पछि परेका वर्गलाई लक्षित गरेर कार्यहरू अघि बढाउने बताइएको छ।स्थानीय तहसँगको साझेदारीमा परियोजना सञ्चालन गरिने हुँदा यसको दीर्घकालीन प्रभाव सुनिश्चित हुने अपेक्षा गरिएको छ।

फेयरमेड फाउण्डेशन र मिक नेपालको सहकार्यले रुकुमपूर्वका गाउँपालिकाहरूमा आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।दुर्गम बस्तीका गर्भवती महिला, नवजात शिशु र परिवारहरू अब अझ सुरक्षित, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य सेवाको प्रत्याभूति गर्न सक्ने वातावरण बन्नेछ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार