२०८३ कार्तिक १२ गते बुधवार

चुन्वाङमा विद्यालयकाे भाैतिक संरचनाकाे अनुगमन गरियो



रुकुमपूर्वकाे भूमे गाउँपालिका–९ अन्तर्गतका विभिन्न विद्यालयहरूमा अध्ययन, अनुगमन तथा अवलोकन गरिएको छ। शैक्षिक सुधारका लागि गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि स्थलगत अध्ययनलाई प्राथमिकता दिएको जनाएको छ।

गैरीगाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमचौर आधारभूत विद्यालय, मदन स्मृति आधारभूत विद्यालय डाँडागाउँ लगायतका विद्यालयहरूमा अनुगमन टोलीले शैक्षिक अवस्था, विद्यार्थी तथा शिक्षकको उपस्थिति, भौतिक पूर्वाधारको उपयोग र अवस्था, सिकाइको उपलब्धि तथा प्रशासनिक व्यवस्थापनबारे अवलोकन गरेको हो।

अनुगमनकाे नेतृत्व गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक सबिना बुढामगरले गर्नुभएकाे थियाे ।यस्तै प्रमुख प्रशासकीय अधिकृत देबिलाल बिक, वडा अध्यक्ष विनोद बुढामगर, अनुगमन समितिका सदस्यसचिव प्रेम प्रसाद भट्टराई, रोजगार सहायक चन्द्र रसाइली तथा नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली लगायतको उपस्थिति रहेकाे थियाेे।

विद्यालयहरूको निरीक्षणपछि टोलीले अधिकांश विद्यालयमा आधारभूत भौतिक संरचनाहरु बन्दै गरेकाे संरचनाहरु बनाउन गाउँपालिका लागि परेकाे बताएको छ।

उपाध्यक्ष सबिना बुढामगरले विद्यालयमा देखिएका समस्याहरू समाधान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँनुभएकाे छ। “शिक्षा हाम्रो पहिलो प्राथमिकता हो। अवलोकनबाट प्राप्त सुझाव र तथ्यांकलाई आगामी नीति तथा कार्यक्रममा समेटिनेछ।”उहाँले बताउनुभयो । शिक्षामा दीर्घकालीन सुधार ल्याउन अभिभावक, विद्यालय र स्थानीय सरकारको सहकार्य अपरिहार्य रहेको बुढामगरले बताउनुभयो।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार