२०८३ साउन १४ गते बिहिवार

रुकुमपूर्वमा ‘हिमालय टुरिष्ट हब’ को नयाँ परिचय




तस्बिर : चन्द्र  रसाइली साैजन्य


लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्व “हिमालय टुरिष्ट हब” को परिचयले चिनिने भएको छ। अग्ला हिमाल, संस्कृति र मौलिक जीवनशैलीले भरिएको नेपालकाे कान्छाे जिल्ला पर्यटकीय नक्सामा आफैंलाई अब स्पष्ट चिनाउने तयारीमा जुटेको हाे।

रुकुमकाेट स्थित कमलदहको फेदीमा लुम्बिनी प्रदेश सरकारको अगुवाइमा आयोजना गरिएको एक विशेष समारोहबीच रुकुमपूर्वलाई औपचारिक रूपमा “हिमालय टुरिष्ट हब” आईतवार घोषणा गरिएको हो। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहन बहादुर केसीको प्रमुख आतिथ्यमा ब्यानर अनावरण गर्दै घोषणा गरिएको छ।

समारोहका प्रमुख अतिथि उपप्रमुख केसीले हिमाली सौन्दर्य, धार्मिक महत्व बोकेका तीर्थस्थलहरू र पदयात्रा मार्गको सम्भावना उल्लेख गर्दै भने, “हामीले सडक, सञ्चार, आवास र साहसिक गतिविधिमा लगानी गर्न सके रुकुमपूर्व प्रदेशकै प्रमुख पर्यटकीय केन्द्र बन्ने बताउनुभयो ।

यस्तै भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले पर्यटन विकास ठूला डीपीआर होइन, साना तर सार्थक कामबाट सुरु हुने बताउनुभयो ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले रुकुमपूर्वमा बनावटी पर्यटनको सम्भावना नभई प्रकृतिले दिएको अर्गानिक उपहार रहेको उल्लेख गर्दै “हिमालय टुरिष्ट हब” घोषणाले हिमाली पर्यटनको नयाँ युग सुरु गराउने विश्वास व्यक्त गर्नुभयो।

यस्तै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले पर्यटकीय नक्सा र गाइडको अभावले यहाँ आउने आगन्तुकहरू अलमलिने गरेकाे उहाँले बताउनुभयाे ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले प्रदेश सरकारले डिजिटल मार्केटिङ अभियान सुरु गर्ने जानकारी दिँदै रुकुमपूर्व विकासको खाका स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीहरूले तयार उहाँले बताउनुभयो ।

उक्त कार्यक्रमकाे समारोहमा सिस्ने र भूमे गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षहरू, जनप्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारणहरुकाे उपस्थिति रहेकाे थियो। स्थानीय युवाहरूले प्रस्तुत गरेको अर्गानिक सिङ्गारु नृत्य, भेषभूषा र सांस्कृतिक झाँकीले कार्यक्रमलाई उत्साहपूर्ण बनाएकाे थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार