२०८३ साउन १४ गते बिहिवार

स्थानीय स्वामित्वको नयाँ अध्याय: सिस्ने गाउँपालिकामा AFIC कार्यक्रमको हस्तारण



सिस्ने गाउँपालिकामा नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहकार्यमा सन् २०१८ देखि सञ्चालन हुँदै आएको बृहत यौनिकता शिक्षा तथा किशोरमैत्री सूचना केन्द्र (AFIC) कार्यक्रमको औपचारिक हस्तारण सफलतापूर्वक सम्पन्न भएको छ।

साे कार्यक्रम शिक्षा तथा समन्वय ईकाईका प्रमुख तिलक गौतमको अध्यक्षतामा तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यतामा विभिन्न सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे। नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रमुख बसन्त खनालले कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि र समुदायमा पुर्‍याएको प्रभावबारे जानकारी दिएर स्थानीय तहको सक्रिय भूमिकाको महत्वमा जोड दिएका थिए।

कार्यक्रमका बाेल्दै कृष्ण रेग्मीले संवेदनशील कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएकोमा खुशी व्यक्त गर्दै स्थानीय सरकार तर्फबाट यसको निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै किशोर-किशोरीहरूको स्वास्थ्य, विकास र लैंगिक समानतामा पुर्‍याएको बताउनुभयो ।

साथै, शिक्षा विकास समन्वय इकाईका प्रमुख तिलक गौतमले किशोरमैत्री सूचना केन्द्रहरूको प्रभावकारिता कायम राख्न विद्यालय तथा स्थानीय तहबीचको सहकार्यलाई बलियो बनाउने आवश्यकता रहेकाे बताउनुभयो ।

कार्यक्रमले AFIC कार्यक्रमलाई स्थानीय स्वामित्वमा हस्तान्तरण गर्दै स्थायित्व र निरन्तरता सुनिश्चित गर्ने नयाँ चरणको सुरुवात गरेको छ। यसले शिक्षा, स्वास्थ्य र स्थानीय शासनबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै किशोरहरूमा आत्मविश्वास, निर्णय क्षमता र स्वास्थ्य सम्बन्धी जानकारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार