
रुकुमपूर्वको ऐतिहासिक स्थान भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगमनले स्थानीय तहको अधिकार र विकास बहसलाई पुनः चर्चामा ल्याएको छ।गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगर, प्रमुख प्रशासकीय अधिकृत देबिलाल विक, वडा अध्यक्षहरू र गाउँपालिकाका सम्पूर्ण कर्मचारीले पूर्वप्रधानमन्त्रीलाई स्वागत पुष्पगुच्छासहित गरिएको स्वागत कार्यक्रमले उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।
स्वागत कार्यक्रमपछि छलफलमा गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाको साप्ताहिक रुपमा प्रकाशन भूमे बुलेटिन, सांस्कृतिक चित्रपुस्तिका र प्रगति प्रतिवेदन पूर्वप्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो।अध्यक्ष श्रेष्ठले स्थानीय तहमा प्रशासनिक संघीयता देखिए पनि वित्तीय संघीयता अझै स्थापित हुन नसकेको गुनासो गर्नुभयो।“वित्तीय अधिकार केन्द्रमै सीमित हुँदा विकास योजनाहरू सोचेजस्तो कार्यान्वयन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो।बजेट विनियोजनको प्रक्रिया जनताको आवश्यकता, भूगोलको चुनौती र स्थानिक यथार्थसँग मेल नखाने अवस्था अझै कायम रहेको बताउनुभयो।“संघीयता भनेको स्थानीय सरकारलाई सक्षम बनाउने संयन्त्र हो, तर हामी अझै स्रोतको अभावमा योजना अलपत्र पार्न बाध्य छौं,” श्रेष्ठले दुःखेसो पोख्नुभयो।
पूर्वप्रधानमन्त्री दाहालले संघीयता संविधानले परिकल्पना गरेजस्तै व्यवहारमा उतार्न अझ गहिरो छलफल र नीतिगत पुनरावलोकन आवश्यक रहेको बताउनुभयो।“हामी तीन तहको शासन प्रणालीमा छौं, तर यसको सफल कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र जिम्मेवारीको स्पष्टता आवश्यक रहेको उहाँले बताउनुभयो।दाहालले अब राजनीतिक रूपान्तरणसँगै प्रशासनिक सुधार र सेवाप्रवाहको पारदर्शिता सुनिश्चित गर्नु अत्यावश्यक भएको उल्लेख गर्नुभयो।“स्थानीय सरकारले जनताको घरदैलोमै सेवा पुर्याइरहेका छन्, त्यसैले तिनलाई स्रोतसाधन र निर्णय क्षमता दिनु आवश्यक छ,” दाहालले जोड दिनुभयो।
भूमे गाउँपालिकाको अवलोकनबाट आफू सकारात्मक प्रेरणा लिएर फर्किएको बताउँदै दाहालले सामाजिक रूपान्तरणतर्फको गाउँपालिकाको प्रयास सराहनीय रहेको बताउनुभयो।“समाजवादको दिशामा स्थानीय तहको अग्रसरता महत्वपूर्ण रहेको बताउनुभो। रुकुमपूर्वकै दुर्गम क्षेत्रका रूपमा परिचित भूमे गाउँपालिका माओवादी जनयुद्धको सशक्त मोर्चा पनि थियो।आज त्यही भूमिमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारजस्ता आधारभूत पूर्वाधारहरूको पहुँच विस्तार हुँदै गएको छ।स्थानीय सरकारको पहल र समुदायको सक्रिय सहभागिताले विकासका गतिहरूलाई गति दिइरहेको छ।स्थानीय नागरिकमा थप आशा र अपेक्षा पलाएको छ।भूमेले विकासको नयाँ अध्याय सुरु गरिरहेको छ। 














प्रतिक्रिया दिनुहोस्