रुकुमपूर्व — प्रेस सेन्टर नेपाल रुकुमपूर्वले रुकुमपूर्व अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै अस्पताल प्रशासनसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा सहभागी पत्रकारहरूले अस्पतालका सेवा प्रवाह सम्बन्धी विभिन्न जिज्ञासा र सुझावहरू राखेका थिए। पत्रकारहरुले विशेष गरी औषधीको गुणस्तर, बिरामीको चाप व्यवस्थापन, टिकट तथा बिल काउन्टरमा देखिने ढिलासुस्ती लगायतका विषयमा प्रश्न उठाएका थिए।
जवाफमा रुकुमपूर्व अस्पतालका निमित्त कार्यालय प्रमुख डा. जितेन्द्रराज कोइरालाले केही कमजोरीहरू सम्भव भए पनि प्रयास भइरहेको बताएका छन्। काेईरालाले पुरानो र साँघुरो भौतिक पूर्वाधार, खरिद ऐनको झन्झट तथा राज्यले रुकुमपूर्वलाई हेर्ने दृष्टिकोणकै कारण अपेक्षित सेवा दिन नसकेको बचाएका थिए।
कार्यक्रममा रुकुमपूर्व अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र शाह, नेकपा माओवादी केन्द्र रुकुमपूर्वका कार्यालय सचिव गोवर्धन बुढा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष वसन्त बाँठा मगर, प्रेस सेन्टरका केन्द्रीय सदस्य सर्जना कार्की, दलित पत्रकार संघका प्रतिनिधि रुवेन विश्वकर्मा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली लगायत पत्रकारहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका गोवर्धन बुढा, पत्रकार महासंघ अध्यक्ष बाँठा मगर र प्रेस सेन्टरका केन्द्रीय सदस्य कार्कीले उठाइएका सवालहरू गम्भीर भएको र प्रशासनले ती विषयमा ध्यान दिनुपर्ने धारणा राखेका छन्।
नवनियुक्त अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाहले कार्यसमिति गठनको प्रक्रियामा रहेको बताउँदै अस्पताल सुधारलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापन गर्दै प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढा मगरले कृष्ण सेन इच्छुकको स्मरण गर्दै पत्रकारितामा देखाएको निष्ठा र साहसको प्रशंसा गरेका छन।बुढाले अस्पतालमाथि उठेका सवालहरू व्यक्तिका लागि नभई संस्थागत सुधारका लागि रहेको उल्लेख गर्दै अस्पतालले ती सुझावलाई सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरेकाे बताएको छन्।















प्रतिक्रिया दिनुहोस्