- तस्बिर जयमान बुढामगर साैजन्य
रुकुमपूर्वको भूमे गाउँपालिका–६ स्थित बाल जनजागरण आधारभूत विद्यालय, रिसालचउरको अनुगमन गरिएको छ। सोमबार जिल्ला शिक्षा विकास तथा समन्वय समिति रुकुमपूर्वको टोलीले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षको अनुगमन गरेको हो।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तथा जिल्ला शिक्षा समन्वय समितिका सचिव तिलक गौतमका अनुसार अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचना, दिवा खाजा कार्यक्रम, शिक्षक दरबन्दीको अवस्था, तथा पदपूर्तिसम्बन्धी पक्षहरूमाथि अवलोकन गरिएको थियो।
गौतमले विद्यालयमा भएका राम्रा अभ्यासको सराहना गर्दै केही कमजोरीहरूलाई आगामी दिनमा सुधार गर्न सुझाव दिइएको जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर ओलीले विद्यालयको समग्र अवस्था प्रस्तुत गर्नुहुँदै विषयगत शिक्षकको अभावले पठनपाठनमा समस्या आइरहेको बताउनुभयो। साथै, शिक्षक व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने र व्यवस्थापन समितिका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको धारणा राख्नुभयो।
अध्यक्ष ओलीले विद्यालयको नयाँ भवन निर्माण, परिसर घेराबार तथा अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि पहल गरिदिन अनुरोध गर्नुभयो।
जिल्ला समन्वय समितिका प्रमुख तथा शिक्षा समन्वय समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठले विद्यालयका समस्या सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गरिने प्रतिबद्धता जनाउनुभयो। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू गम्भीर भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका पूर्वप्रमुख गजेन्द्रबहादुर ओली, निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, शिक्षक रमेश शर्मा लगायतको सहभागिता रहेको थियो।











प्रतिक्रिया दिनुहोस्