रुकुमपूर्वकाे भूमे गाउँपालिकाका विभिन्न बस्तीहरूमा आज बिहानदेखि नेपाल टेलिकमको मोबाइल सञ्जाल अवरुद्ध भएको छ।मोबाइल सेवा अवरुद्ध हुँदा झुम्लाबाङ, मोराबाङ, सिमा, जितखोला, खाबाङ, महत लगायतका गाउँमा सूचना–सञ्चार सम्पर्क विहिन भएको छ।स्थानीयवासीका अनुसार बिहान ५ बजेदेखि नै टेलिकमको नेटवर्क पूर्ण रूपमा अवरुद्ध भएको हो।
अहिले अधिकांश नागरिक मोबाइल सेवामै भर पर्छन्। बैंक, विद्यालय, स्वास्थ्य संस्था, पालिका कार्यालय लगायत धेरै सेवा प्रवाह डिजिटल माध्यमबाट हुने भएकाले नेटवर्क अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ।
नेपाल टेलिकमको रुकुमपूर्वस्थित कार्यालयबाट हालसम्म कुनै औपचारिक जानकारी प्राप्त भएको छैन। स्थानीय स्रोतका अनुसार मौसममा आएको खराबी, विद्युत् अवरोध वा टावरमा प्राविधिक समस्या हुन सक्ने अनुमान गरिएको छ।
रुकुमपूर्वका दुर्गम गाउँहरूमा यस्तै सेवा अवरुद्ध हुने समस्या देखिँदै आएको छ। तर, प्रत्येक पटक टेलिकमले ढिलो गरी मात्रै समस्या समाधान गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ।
















प्रतिक्रिया दिनुहोस्