
रुकुम पूर्वको भूमे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।१५ महिनादेखि २३ महिनासम्मका १ हजार ६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो।स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल प्रसाद श्रेष्ठका अनुसार जिल्लाका तीन स्थानीय तहमध्ये भूमे पनि अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा पुग्न सफल भएको बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र पालिकाको समन्वित प्रयासकै कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो।”स्वास्थ्य क्षेत्रका समस्यालाई प्राथमिकतामा राख्दै अबको लक्ष्य भनेको खोप सेवाको दिगोपनालाई सुनिश्चित गर्नु हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।
यस्तै कार्यक्रममा उपाध्यक्ष सबिना बुढा मगरले खोप सुनिश्चितता सामाजिक न्यायसँग प्रत्यक्ष जोडिएको बताउँदै “स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख दायित्व भएको बाउनुभयो। महिला र बालबालिका समेत खोप सेवाबाट वञ्चित नहोस् भन्नेमा हामी विशेष सतर्क थियौं।” खोप सेवामात्रै हैन, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि पनि पालिकाले आवश्यक पूर्वाधार र जनशक्ति विस्तारमा जोड दिएको बताउनुभयो।
भूमे गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र यादवले पछिल्लो समय पालिकाले ४ वटा स्वास्थ्य चौकीबाट १४ वटा पुर्याएको जानकारी दिनुभयो।सबै वडामा वर्थिङ सेन्टरको व्यवस्था गरिएको र बिरामी सेवा दिन स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिइरहेको उहाँले बताउनुभयो।
उक्त कार्यक्रममा गाउँपालिकास्तरीय खोप समन्वय समिति संयोजक तथा अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा मगर, नौ वटै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत देविलाल विक, स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल श्रेष्ठसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।
















प्रतिक्रिया दिनुहोस्