२०८३ साउन १३ गते बुधवार

भूमेमा योजना तर्जुमा कार्यशाला सम्पन्न, मानसिक स्वास्थ्यमा जोड



रुकुमपूर्वको भूमे गाउँपालिकामा योजना तर्जुमा सम्बन्धी एक दिने पालिका स्तरीय कार्यशाला सम्पन्न भएको छ। सामुदायिक रुपान्तरण परियोजना कार्यक्रम अन्तर्गत नेपाल जनजागरण मञ्च रुकुमपूर्वको आयोजनामा, यु.एम.एन. रुकुमपूर्व क्लस्टरको सहयोग तथा भूमे गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा गाउँपालिका अन्तर्गत रहेका सबै नौ वटै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखागत प्रमुखहरूको सहभागिता रहेको नेपाल जनजागरण मञ्च रुकुमपूर्वका कार्यक्रम संयोजक रुकुम टमटाले जानकारी दिनुभयो ।उहाँको अनुसार कार्यशालामा स्थानीय तहको योजना निर्माण प्रक्रियामा मानसिक र मनाेसामाजिक स्वास्थ्य समस्यालाई जाेड दिई आर्थिक वर्ष ०८२/०८३ मा याेजना तथा कार्यक्रम सुनिश्चित गर्न गहिरो छलफलगरिएको टमटाल बताउनुभयो ।

कार्यशालामा गरिबी न्यूनीकरण, दिगो विकास लक्ष्य , वातावरण संरक्षण, सामाजिक समावेशीकरण, समतामूलक विकास, विपद् व्यवस्थापन, सन्तुलित विकास, लैङ्गिक समानता तथा मानसिक स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने जस्ता विषयवस्तुमा विस्तृत रूपमा प्रस्तुति तथा छलफल गरिएको संयाेजक टमटाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका मुसिकोट नगरपालिकाका न्यायाधिवक्ता ललित बुढामगरले योजना तर्जुमा प्रक्रियामा कानुनी र नीतिगत पक्षको स्पष्टता आवश्यक रहेको बताएका छन्।

कार्यक्रमको समापन सत्रमा बोल्दै भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले स्थानीय तहको योजना निर्माणमा सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको र मानसिक स्वास्थ समस्यालाई सामाधान गर्ने आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार