रुकुम र रोल्पाको उच्च पहाडी भेगहरू केवल युद्धका कथा बोकेका छैनन्, अब खेलकुदको गतिशीलता पनि बोकिरहेका छन्।त्यही गतिशीलता हो – गुरिल्ला अल्ट्रा ट्रेल म्याराथन, जसको छैटौं संस्करण आउँदो असार ३ गते आयोजना हुँदैछ।रोल्पाको थवाङ गाउँपालिका र रुकुमपूर्वको भूमे गाउँपालिकाको संयुक्त पहलमा हुन लागेको यो दौड प्रतियोगिता ऐतिहासिक पदमार्गमा जीवन, साहस र पहिचानको धुन फेरि एकपटक गुन्जाएको छ।तत्कालीन माओवादीले १० वर्ष सञ्चालन गरेको सशस्त्र युद्धमा गुरिल्लाहरुले हिँडेको गोरेटो, तालिम र सेल्टर लिएका केन्द्र तथा गाउँ–बस्तीहरु समेटेर दुई जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता तथा कार्यक्रमको आयोजना गरिएको छ।
५५ किलोमिटर लामो यो अल्ट्रा म्याराथनले महतदेखि थबाङसम्मको कष्टसाध्य यात्रालाई दौडमार्फत् जीवन्त बनाउने अपेक्षा गरिएको छ।१० वर्षीय सशस्त्र युद्धको उद्गम थलो महत गाउँबाट सुरु हुने दौड नईमाकिङ्ग, लाबाङ, हुलबाङ, थोर्बाङ, जलजला, थार्पु हुँदै जुर्बाङ पार गरेर थबाङ पुग्नुपर्ने यो दौड केवल प्रतिस्पर्धा मात्र होइन, यो रुकुम र रोल्पाको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको साझा मञ्च बन्दै गएको भूमे गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा पुरुष र महिलालाई समान रूपमा प्रतिस्पर्धा गरिनेछ।प्रथम हुनेले नगद ७० हजार दोस्रोले ४५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले २५ हजार जित्नेछन्।चौथोदेखि दसौं स्थानसम्म पुग्ने सबै खेलाडीले ५ हजार नगदसहित प्रमाणपत्र, मेडल र कप प्राप्त गर्नेछन्। नेपाली खेलाडीका लागि दर्ता शुल्क ५ सय र विदेशी सहभागीका लागि १ हजार तोकिएको छ।
भूमे गाउँपालिकाले अघिल्लो वर्ष आफै सञ्चालन गरे पनी यस वर्ष भने रोल्पाको थवाङ्ग गाउँपालिका सगं सहकार्य गरेको भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभएको छ।गुरिल्ला म्याराथन दौडले देश तथा विदेशमा समेत चर्चा कमाएको बताउनुभयो।
म्याराथन खेलले यो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुगेको देख्न सकिन्छ। पलिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरेर खेललाई ब्राण्डिङ गरेको तथा कार्यपालिका सदस्यहरु र स्थानीय युवाको प्रमुख भूमिका यस म्याराथन प्रतियोगिता रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।उहाँका अनुसार स्थानीय संस्कृति जनजीवन, भूगोलका साथै युद्ध पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालीन जनयुद्धको ऐतिहासिकलाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन तथा प्रवद्धन गर्ने लक्ष्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको बताउनुभएको छ।
यस्तै थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा भन्नुहुन्छ “थवाङ जनयुद्धको उर्वर भूमि हो। हामी अब शान्ति र पहिचानको खेती गर्दैछौँ।यो म्याराथन त्यसैको नमुना हो।” थवाङ युद्धका दिनमा सरकारी फौज र विद्रोहीबीचको ठुलो भिडन्तको साक्षी थियो।अहिले त्यही डाँडाकाँडामा युवा खेलाडी दौडिन्छन्।म्याराथनका दिनहरूमा गाउँमा उत्सवकै वातावरण बन्ने बुढाले बताउनुभएको छ।
बन्दुक बोकेको इतिहासलाई अब बिब नम्बरले प्रतिस्थापन गर्दैछ।गुरिल्लाको गोरेटोमा अब दौडिने तयारी भइसकेको छ।तत्कालीन जनयुद्धको केन्द्रबिन्दु मानिने रोल्पाको थवाङ र रुकुमपूर्वको भूमे गाउँपालिकाले यस वर्ष छैटौं संस्करणको गुरिल्ला अल्ट्रा म्याराथन हुने छ।यो केवल दौड मात्र होइन, युद्धको भूमिमा शान्तिको उत्सव हो। ५५ किलोमिटर लामो म्याराथनले युद्धको स्मृतिलाई साहसिक खेलकुद र पर्यटनमा बदल्ने प्रयास गरेको छ।














प्रतिक्रिया दिनुहोस्