
रुकुम पूर्व, भूमे – भूमे गाउँपालिकामा परम्परागत कला र संस्कृति जोगाउन उद्देश्यसहित पाँचौं साँस्कृतिक महोत्सव हुने भएको छ। असार २ गतेदेखि सुरु हुने महोत्सव गाउँपालिकाको केन्द्र खाबाङ बगरमा सञ्चालन हुने महोत्सव व्यवस्थापन समितिले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष तथा महोत्सव समितिका संयोजक सविना बुढा मगरको अध्यक्षतामा बसेको समितिको बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। व्यवस्थापन समितिका सदस्य–सचिव चन्द्र रसाइलीका अनुसार, भूमि पूजाको अवसर पारेर यो महोत्सव आयोजना गरिँदै आएको बताउनुभएको छ।
महोत्सवमा भूमे नाच, ढोङ्गे/नचारु नाच, मयूर नाच, डिग्रे/पैंसेरु नाच, झोरेल्ली नाच, फाक नाच, सिंगारु नाच तथा लस्के गीत लगायतका परम्परागत नृत्य र सांगीतिक विधाको प्रतियोगिता हुनेछ।
भूमे नाच प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने समूहले क्रमशः १ लाख, ७५ हजार, ५० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।त्यस्तै ढोङ्गे/नचारु नाच, मयूर नाच र डिग्रे/पैंसेरु नाचतर्फ क्रमशः प्रथमले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना स्थानले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
अन्य नाच तथा गीत प्रतियोगिता – झोरेल्ली, फाक, सिंगारु नाच र लस्के गीततर्फ भने प्रथम स्थानलाई १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वनालाई ३ हजार रुपैयाँ प्रदान गरिने भएको छ।
भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले भूमे नाचदेखि विभिन्न सँस्कृतिलाई परम्परागत विधाहरू केवल मनोरञ्जन मात्रै नभए र पुर्खाहरूको ज्ञान, जीवनशैली र इतिहास बोकेका अमूर्त सम्पत्तिलाई बचाउने बताउनुभएको छ।
स्थानीय लोपोन्मुख संस्कृति र पहिचानलाई संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष यो महोत्सव आयोजना गर्दै आएको गाउँपालिका उपाध्यक्ष सविना बुढा मगरले बताउनुभयो। उहाँका अनुसार, प्रतियोगितामार्फत युवापुस्तामा मौलिक संस्कृति प्रतिको आकर्षण बढाउन खोजिएको बताउनुभएको छ।











प्रतिक्रिया दिनुहोस्