२०८३ कार्तिक १२ गते बुधवार

रुकुमकोटमा अनुपम अभियान सम्पन्न, २०८४ को निर्वाचनमा महिलाको सशक्त सहभागिताको तयारी



रुकुमपूर्व, — अन्तरपुस्ता महिलावादी मञ्चद्वारा सञ्चालित ‘अनुपम अभियान’ रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको छ। अभियानको उद्देश्य आगामी २०८४ सालको निर्वाचनमा महिलाको सशक्त राजनीतिक सहभागिता सुनिश्चित गर्नु रहेको आयोजकहरूले बताएका छन्।

नेपालको संविधानले महिलालाई समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा उनीहरू अझै पनि राजनीतिक रूपमा पछि पारिँदै आएको भन्दै महिला नेतृत्वको खाँचो औँल्याइएको थियो।

नेपाल महिला सेवा केन्द्र रुकुमपूर्वकी जिल्ला संयोजक दिपा धितालका अनुसार, ‘अनुपम अभियान’ले देशभर महिला नेतृत्वको पक्षमा जनचेतना फैलाउने र राजनीतिक दलहरूलाई महिला उम्मेदवारलाई प्राथमिकता दिन दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ।

संयोजक धितालले महिलालाई उम्मेदवार बनाउने मागसहित हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने जानकारी दिँदै, दीर्घकालीन रूपमा महिलाको निर्णय तहमा उपस्थिति वृद्धि गराउने उद्देश्य रहेको बताइन्। विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको अभियानलाई अझ प्रभावकारी बनाउँदै राजनीतिक दबाब सिर्जना गर्ने रणनीतिअनुसार कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।

कार्यक्रममा सिस्ने गाउँपालिकाकी संस्थापक अध्यक्ष कुमारी बरालले संविधानले महिलालाई अधिकार दिएको भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको धारणा व्यक्त गरिन्। उनले भनिन्, “गठबन्धनको नाममा महिलालाई पछाडि पारिएको छ, अब महिलाले आफैं निर्णय तहमा पुग्ने बाटो खोज्नुपर्छ।”

उनले महिलाहरूले आफूलाई कमजोर ठान्ने सोच परित्याग गर्नुपर्नेमा पनि जोड दिइन्।बरालले घरेलु हिंसाको सन्दर्भ उठाउँदै भनिन्, “हिजो सासुबाट सुरु भएको हिंसा आज बुहारीसम्म पुगेको छ। सामान्य घरखर्चका लागि अरूको भर पर्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ, महिला आत्मनिर्भर बन्नुपर्छ।”

कार्यक्रममा संयोजक दिपा धितालले प्रशिक्षण प्रदान गरेकी थिइन्। कार्यक्रममा सिस्ने गाउँपालिकाकी संस्थापक अध्यक्ष कुमारी बराल, जिल्ला समन्वय समिति सदस्य बिन्दु रावल, कार्यपालिका सदस्य तिर्था पुनलगायत विभिन्न क्षेत्रका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते बुधवार