
मनसुन सक्रिय भएसँगै रुकुमपूर्वको भूमे गाउँपालिकामा संभावित प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।शुक्रबार गाउँपालिकाको केन्द्र खाबाङबगरमा सम्पन्न बैठकले विपद् पूर्वतयारी, तत्कालीन उद्धार, राहत तथा समन्वयका लागि कार्ययोजना तयार गरेको हो।बैठक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको थियो।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ,उपाध्यक्ष सबिना बुढामगर, नौवटै वडाका अध्यक्षहरू, जिल्लाका सम्पूर्ण कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्यकर्मी, तथा शाखागत प्रमुखहरूको उपस्थिति थियो।
बैठकले प्रत्येक वडामा वडाध्यक्षहरूलाई फोकल पर्सन तोकेर विपद्को अवस्थामा तत्काल समन्वय गर्न जिम्मेवारी तोकेको छ।साथै, स्वास्थ्यकर्मीलाई प्राथमिक उपचारका लागि तयारी अवस्थामा राखिने निर्णय गरिएको छ।
भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जोखिम न्यूनीकरण र तात्कालिक राहत संयन्त्रका लागि स्थानीय संरचनालाई सक्रिय बनाइने बताउनु भएको छ।हरेक वडामा सूचनाको चाँडो पहुँच, उद्धार र राहत तत्काल पुग्ने सुनिश्चितता गर्न गाउँपालिका तयार रहेको बताउनुभएको छ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले विपद् व्यवस्थापनमा समन्वय, स्पष्ट भूमिका र तत्काल क्रियाशीलता आवश्यक हुने बताउनुभयो।उहाँले “कागजी योजना होइन, व्यवहारमा लागू हुने संयन्त्र निर्माण नै अहिलेको आवश्यकता रहेको बताउनुभयो।विपद् व्यवस्थापनमा सबै निकायबीच समयमै समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ।
रुकुमपूर्वको भूमे गाउँपालिका मात्रै नभएर अन्य दुई गाउँपालिका पनि विगत वर्षहरूमा विपद्का कारण जनधनको क्षति बेहोर्दै आएको क्षेत्रलाई लक्षित गर्दै समितिले जोखिमयुक्त बस्तीहरूको पहिचान, सूचना प्रवाह, उद्धार टोली परिचालन र राहत सामग्री व्यवस्थापनमा प्राथमिकता दिने भएको छ।











प्रतिक्रिया दिनुहोस्