२०८३ कार्तिक १२ गते बुधवार

उद्योग वाणिज्य संघ र रुकुमकोट बजार व्यवस्थापन समितिद्वारा बजार सरसफाइ गरियो



रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित छिप्रीदह बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। उद्योग वाणिज्य संघ रुकुम पूर्व र रुकुमकोट बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा शनिबार बिहान बजार क्षेत्रमा फोहोर व्यवस्थापन तथा नाला सरसफाइ गरिएको हो। सदरमुकाम क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले सडकछेउका नालाहरू सफा गर्नुका साथै झाडी फँडानी र कचरा व्यवस्थापन गरिएको थियो।

कार्यक्रमका क्रममा उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केबेन्द्र गौतमले सरसफाइलाई सामूहिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “फोहोरको समस्या व्यक्तिगत नभई सामूहिक सरोकारको विषय हो। सदरमुकाम क्षेत्र सफा र व्यवस्थित बनेमा जिल्लाका ३१ वटै वडामा पनि सरसफाइप्रतिको चेतना विस्तार हुनेछ।” उहाँले थप भन्नुभयो, “सरसफाइ अरूले गरून् भनेर पर्खिनुभन्दा आफूले आफ्नै स्थान सफा राख्ने बानी बसाल्न आवश्यक छ।

सफा बजार, स्वच्छ समाज हाम्रो साझा पहिचान बन्नुपर्छ।”बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घर्तीका अनुसार हरेक महिनाको अन्तिम शनिबार बजार क्षेत्रमा नियमित सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। “यसअघि सहभागी नहुनेहरूलाई जरिवाना लिइएको थिएन। अबदेखि सरसफाइ कार्यक्रममा सहभागी नहुनेलाई पाँच सय रुपैयाँ जरिवाना गरिनेछ,” उहाँले जानकारी दिनुभयो।

संघ–संस्था र स्थानीय व्यापारीहरू लगाएत स्थानीयहरुको उपस्थिति रहेको उक्त सरसफाइ अभियानले रुकुमकोट बजार क्षेत्रलाई सफा र स्वच्छ बनाउने दिशामा सकारात्मक संकेत देखाएको छ। अभियानबाट वातावरणीय सुधारसँगै जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शनिवार