२०८३ जेष्ठ १७ गते आइतवार

भूमे पर्व संरक्षणमा स्थानीय सरकारको अग्रसरता



भूमेली समुदायको मौलिक पर्व भूमे (बल पूजा)

रुकुमपूर्वको भूमे गाउँपालिकामा भूमेली समुदायको मौलिक पर्व भूमे (बल पूजा) उल्लासपूर्वक मनाउन थालिएको छ।यो पर्व परम्परा, पर्यावरणसँगको सम्बन्ध र सामूहिक आस्थाको प्रतीकका रूपमा रहेको छ।प्राकृतिक विपत्तिबाट जोगिन भूमिदेवताको आराधना गर्ने मान्यता बोकेको यस पर्वको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकार अग्रसर देखिएको छ।

मगर संस्कृति अध्येता तिलक रोका मगरका अनुसार भूमे पर्वको सुरुवात सर्प र मानवबीच भएको कथासँग सम्बन्धित छ।प्राकृतिक प्रकोप रोक्न मगर समुदायले सर्पलाई पूजा गर्न थालेपछि विपत्ति टरेको जनविश्वास रहिआएको छ।यही कथालाई आधार बनाएर जेठ मसान्तदेखि असार १ गतेसम्म भूमे पर्व नाचगान, फूल टिप्ने र बलिपूजाका विविध विधिसहित मनाइन्छ।पर्वको अघिल्लो दिन युवायुवतीको ‘नोगोबाङ्गे’ समूह पहाडी लेक चढ्छ।रातभर नाचगान, झाम्रे गीत गाएर बिहान फूल टिपेर गाउँ फर्किन्छन्।ती फूल पन्थ्यौली, जलाकी र थानमा अर्पण गरिन्छ।गाउँ फर्किँदा फूल माग्ने युवालाई स्वागत गर्ने चलनले सामुदायिक मेलमिलाप झल्काउँछ।

असार १ गते थानमा साँढे वा बोका बलि दिने परम्परा अनुसार महिलाहरू घरघरबाट धुलो, टीका र अन्न लिएर बलि दिने जनावर पछ्याउँछन्।यो प्रक्रिया घर–परिवारको अनिष्ट हटाउने प्रतीक मानिन्छ।थानमा सामूहिक पूजा गरी गाउँको समग्र कल्याणको कामना गरिन्छ।

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले “भूमे पर्व भूमेली नागरिकको मौलिक पहिचान भएको बताउनुभएको छ।यसको संरक्षण र प्रवर्द्धन हाम्रो प्रमुख दायित्व भएकाले गाउँपालिकाले यसलाई समेटेर नीति, कार्यक्रम र बजेट तय गरिएको बताउनुभयो।”

उपाध्यक्ष सविना बुढा मगरले गाउँपालिका र हरेक वडाले भूमे पर्वलाई दस्तावेजीकरण गर्ने अभियान सुरु भएको जानकारी बताउनुभयो।“विगतको वर्षदेखि गाउँपालिकाले वडास्तरमा समन्वय गरी पर्वको सम्पूर्ण गतिविधि दृश्य दस्तावेजमा उतार्ने कार्य सुरु गरेको बताउनु भएको छ।

वडा नं. ३ का अध्यक्ष प्रशुराम बुढा मगरले भूमे पर्वलाई सामूहिक ज्ञान र संस्कारको स्रोतका रूपमा व्याख्या गर्नु भएको छ।“यो हाम्रो पहिचान मात्र होइन, पुर्खाको संस्कारको जीवित रूप हो।यसको संरक्षण साझा जिम्मेवारी रहेको बताउनुभयो।

स्थानीय युवा राजन पुन मगरले युवाहरूले पर्वलाई नयाँ पुस्तामा पुर्‍याउन वृत्तचित्र निर्माणमा स्थानीय सरकार लाग्दा पुस्ता हस्तान्तरणमा अग्रसर रहेको बताएका छन्।“भूमे पर्व केवल उत्सव होइन, जीवनशैली, परम्परा र आस्थाको समग्र प्रतिनिधित्व रहेको उनले बताएका छन्।

भूमे पर्व सामाजिक, सांस्कृतिक र आध्यात्मिक एकताको समष्टिगत प्रतीक हो।भूमे गाउँपालिकाले यस पर्वको संरक्षणमा चालेको कदमले स्थानीय सरकारमार्फत संस्कृति जगेर्ना सम्भव हुने देखाएको छ।समयसँगै हराउँदै गएका मौलिक परम्परा पुनर्जागृत गर्न स्थानीय तहको सक्रियता आवश्यक छ भन्ने सन्देश पनि यस पर्वको संरक्षण अभियानले दिएको छ। आधुनिकताबीच मौलिकताको रक्षा गर्ने भूमे गाउँपालिकाको प्रयास अन्य पालिकाका लागि पनि प्रेरणादायी बन्न सक्नेछ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार