
सशस्त्र द्वन्द्वको ऐतिहासिक भूगोलमा आधारित ५५ किलोमिटर लामो ‘गुरिल्ला अल्ट्रा म्याराथन’ मा रोल्पा थवाङका २३ वर्षीय मनकुमार रोकामगरले शानदार जीत निकालेका छन्।
रोल्पा र रुकुमपूर्वका दुई गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न छैठौं संस्करणको म्याराथन महतबाट सुरु भई थवाङमा टुंगिएको थियो। उकालो–ओरालो, हिमाली काँध र प्रचण्ड गर्मीका बीच मनकुमारले ७ घण्टा ५९ मिनेटमा दौड पूरा गर्दै सबै २४ प्रतिस्पर्धीलाई पछाडि छाडे।
दौड महत, नईमाकिङ, लाबाङ, हुलबाङ, थोर्बाङ, जलजला, थार्पु, जुर्बाङ हुँदै थवाङ पुगेको थियो — यो मार्ग तत्कालीन जनयुद्धका आधार इलाकाहरू थिए। दौडको उद्देश्य पनि सोही इतिहासलाई सम्मान गर्ने थियो।
विजेता मनकुमार भन्छन्, “म केवल पदकका लागि दौडिनँ। यो मेरो माटो, इतिहास र आत्मासँगको दौड थियो।”
मनकुमारका अनुसार थवाङका गल्ली, जङ्गल र काँधमा दौडिनु केवल शारीरिक भन्दा भावनात्मक यात्राजस्तै थियो। उनी यसअघि पनि राष्ट्रिय स्तरका अल्ट्रा म्याराथनहरूमा उपाधि जितिसकेका छन्।
यस्तै सोलुखुम्बुका ४० वर्षका किरण पुलुङ राई ८ घण्टा २२ मिनेटमा दोस्रो भए। राईलाई पछ्याउँदै भूमे गाउँपालिका–३ का २२ वर्षीय शक्तिराम रोका मगरले ८ घण्टा २२ मिनेट १५ सेकेन्डमा दूरी तय गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
स्थानीय युवा, खेलप्रेमी रस्थानीय सरकार मिलेर सञ्चालन गरेको यो दौडले भूमी–इतिहास र पहिचानलाई दौडमार्फत् जगाउने प्रयास गरेको आयोजकको भनाइ छ।

साेलुखुम्बुका किरण पुलुङ राई हुनुहुन्छ

भूमे गाउँपालिका वडा नम्बर -३ क्याङ्सीका शक्तिराम राेकामगर हुनुहुन्छ
















प्रतिक्रिया दिनुहोस्