
रुकुमपूर्वको भूमे गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।सोमबार सम्पन्न १६औं गाउँसभा अन्तर्गतको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष तथा गाउँसभा सभाध्यक्ष होम प्रकाश श्रेष्ठले बार्षिक तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
गाउँपालिकाको बार्षिक नीति कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्यमशीलता र पूर्वाधार विकासजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ।विशेष गरी ‘अर्गानिक भूमे’ को अवधारणालाई सशक्त बनाउँदै नमूना कृषि गाउँ कार्यक्रम, सामुदायिक बीउ बैंक, प्रतिफलमा आधारित अनुदान, उत्कृष्ट कृषक सम्मान, कृषि उद्यम कर्जा, र नि:शुल्क बिरुवा वितरण जस्ता कार्यक्रम अघि सारिएको छ।
यस्तै गाउँपालिकाले स्थानीय कच्चा पदार्थ र जडीबुटीमा नीतिगत, कानुनी र प्रशासनिक व्यवस्था गर्दै परम्परागत उद्योगलाई सुदृढ र व्यवसायिक बनाउने नीति लिएको छ।महिला उद्यमशिलता प्रवर्द्धनका लागि शहीद धनमाया श्रेष्ठ उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
यसै गरि गाउँपालिकाले दिगो पर्यटन विकासलाई अर्को मुख्य प्राथमिकता दिएको छ।गाउँपालिका भित्र रहेका प्राकृतिक, साँस्कृतिक र ऐतिहासिक स्थलहरूको पहिचान तथा सम्भाव्यता अध्ययनसहित गुरुयोजना तयार पारिने बताइएको छ।
शिक्षा क्षेत्रमा दरबन्दी मिलान, शिक्षण सिकाइ अनुदान, र शैक्षिक कर्जा कार्यक्रम निरन्तर रहने जनाइएको छ।स्वास्थ्य सेवामा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, घरमै सेवा, दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण, तथा ७० वर्ष माथिका नागरिकहरूलाई प्राथमिकता दिने नीति लिइएको गाउँसभाका सदस्य सचिब देबिलाल बिकले बताउनु भएको छ।
गाउँमा रहेको रोजगार सेवा केन्द्रलाई सुदृढ गर्दै सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्श सेवा प्रदान गरिने र सम्पूर्ण करार र ज्यालादारी कर्मचारी तथा शिक्षकहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने कार्यसमेत नीति र कार्यक्रममा समावेश गरिएको छ।
बेरुजु फछ्यौट गर्न आगामी आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट गर्ने लक्ष्य लिएको छ। मौलिक र लोपोन्मुख कला–संस्कृतिको संरक्षणका लागि भूमे सांस्कृतिक महोत्सव, अध्ययन अनुसन्धान, डकुमेन्ट्री निर्माण र अभिलेखिकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ।साथै, रिङरोड, लिङ्करोड तथा सहायक सडकमा बायोइन्जिनियरिङ प्रविधि अनुसार वृक्षारोपण गरिने गाउँपालिकाले जनाएको छ।साथै गाउँपालिकाले भूमीहिन दलित, अव्यवस्थित बसोवासीको समस्या समाधानको लागि तथ्याङ्क संकलन, प्रमाणिकरण र अभिलेखिकरण गरी भूमी समस्या समाधान आयोग सँग आवश्यक सहकार्य गरी जग्गा धनी प्रमाणपुर्जा वितरण गर्ने भएको छ।
उक्त बार्षिक निति कार्यक्रममा न्यायिक समितिका सयोजंक तथा गाउँपालिका उपाध्यक्ष सविना बुढामगर, कार्यापालिका सदस्य भारती नेपाली , विधायन समितिका संयोजक तथा २ नम्बर वडाका वडा सदस्य रकम पुनमगरले शुभकामना मनत्व्य दिनु भएको थियो।











प्रतिक्रिया दिनुहोस्