२०८३ बैशाख ५ गते शनिवार

भूमेमा ६ दिने पत्रकारिता तालिम सम्पन्न



स्थानीय स्तरमा सञ्चारको सशक्तीकरणका लागि रुकुमपूर्वको भूमे गाउँपालिकाले एक उल्लेखनीय कदम चालेको छ।गत हप्ता देखि नेपाल पत्रकार महासंघ रुकुम पूर्वको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा ६ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ।

आधारभूत पत्रकारिता तालिममा पालिकाका ९ वटै वडाबाट पत्रकारिताप्रति रुचि भएका महिला र पुरुषहरूको उत्साहजनक सहभागिता भएका ६ दिन सम्म चलेको तालिममा सहभागीहरूलाई समाचार लेखन र उद्घोषणको ज्ञान दिनुका साथै स्थानीय मुद्दालाई उजागर गर्ने अभ्यास सिकाईएको थियो।

रेडियो सीआईएनका पत्रकार लिलप्रकाश चन्द, बरिष्ठ पत्रकार गणेश सिर्पाली र जयमान बुढामगरले सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।६ दिन सम्म सहभागी  भएका कमल सुनार र आशकुमारी रोकाले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिंदै, अब आफूहरू समाजका सकारात्मक परिवर्तनहरूलाई उजागर गर्न तत्पर रहेको बताएका छन्।

तालिमका प्रशिक्षक चन्दले पत्रकारिता पेशा अहिलेको प्रविधियुक्त युगसँग मेल खानु आवश्यक रहेको भन्दै एआई प्रविधिसँगै पत्रकारितालाई पनि अद्यावधिक गर्दै लैजानुपर्ने बताउनु भएको छ। यस्तैप्रशिक्षक गणेश सिर्पालीले भने पत्रकारितामा आवश्यक मूल्यहरू—इमानदारी, धैर्यता र अध्ययनशीलता मन्द हुँदै गएको बताउनुभयो।

कार्यक्रमको समापन समारोहमा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले रुकुमपूर्वका सञ्चार माध्यमहरू अन्य जिल्लाभन्दा अगाडि रहेको उल्लेख गर्दै, सुशासन प्रवर्द्धनमा स्थानीय पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

त्यस्तै, संस्थापक अध्यक्ष रामसुर बुढामगरले सञ्चार क्षेत्रको विकास अब स्थानीय आवश्यकता भएको बताउनुभयो।

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले ‘नागरिकसँग भूमे गाउँपालिका’, ‘कृषि प्राविधिक’, ‘दलित आवाज’ र ‘महिला आवाज’ जस्ता कार्यक्रमहरू रेडियो र अन्य माध्यमबाट निरन्तर सशक्त बन्दै गइरहेको बताउनुभयो।यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा अझ प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

कार्यक्रमको समापनमा महासंघका अध्यक्ष बसन्त बाँठा मगरले पालिकाको सहकार्यप्रति आभार व्यक्त गर्दै, सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार