युनाइटेड मिशन टु नेपाल (यु.एम.एन.) र पुथाउत्तरगंगा गाउँपालिकाको संयुक्त टोलीले शनिबार गाउँपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका कृषि र शिक्षा योजनाको अनुगमन गरिएकाे छ। यु.एम.एन. काे शाखा कार्यालय तकसेरा र स्थानीय सरकारको सहकार्यमा गरिएको अनुगमनमा विद्यालयमा सञ्चालित किशोर–किशोरी कार्यक्रम, बाल क्लब र गुणस्तर शिक्षा सुधार योजनाको प्रभावकारिता तथा किसानलाई दिइएको कृषि अनुदानको कार्यान्वयन अवस्थाबारे जानकारी लिइएकाे हो।
परियोजना संयोजक मुकुन्द पुनका अनुसार ‘आइजी परियोजना’ अन्तर्गत सञ्चालित तरकारी तथा फलफूल खेती र विद्यालयमा सञ्चालित कार्यक्रमहरूको अवलोकन गर्दा सकारात्मक सुधार देखिएको पुनले जानकारी दिनुभयो ।
अनुगमन टोलीले वडा नं. ६ स्थित जनजागृति आधारभूत विद्यालयमा निर्माण गरिएको बालमैत्री खानेपानी धारा, वडा नं. ५ मा सञ्चालित तरकारी खेती, शीत परियोजना कार्यक्रम तथा देउराली माध्यमिक विद्यालयको सुरक्षित खानेपानी व्यवस्थाको समेत स्थलगत अवलोकन गरेको थियो।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुन, प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिक, शिक्षा शाखा प्रमुख रामप्रसाद खड्का, कृषि शाखा प्रमुख ओमप्रकाश ओली, स्वास्थ्य शाखा प्रमुख कलिभान बिष्ट, इञ्जिनियर इन्द्रजित गामी, योजना शाखाकी सबिना भाट लगायत गाउँपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो।













प्रतिक्रिया दिनुहोस्