२०८३ कार्तिक १२ गते बुधवार

पुथाका ५ विद्यालय गाउँपालिकाको अनुमतिविनै बन्द



रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालित पाँचवटा विद्यालयले स्थानीय सरकारको अनुमति र जानकारीविनै विद्यालय बन्द गरेका छन्। असार १ गतेदेखि १८ गतेसम्म ती विद्यालयमा पठनपाठन ठप्प रहेकाे छ।

गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काका अनुसार ५६ वटा विद्यालयमध्ये पर्वत मावि कोल, दुर्गा आवि गर्खानी, ज्योति आवि फल्नै, जनसेवा आवि गोलखाडा, र पहाडी आवि छमारी गरि पाँच विद्यालयले गाउँपालिकालाई कुनै पनि जानकारी नदिई मनोमानीरुपमा विद्यालय बन्द गरेकाे खड्काले बताउनुभयो।

पाचँ विद्यालय मध्य अन्य सबै विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको छ तर यी विद्यालयहरूले आफ्नो मनपरी शैलीमा विद्यालय बन्द गरेकाे शिक्षा शाखा प्रमुख खड्काले बताउनुभयाे।

गाउँपालिकाले ती विद्यालयहरूका प्रधानाध्यापकलाई तत्काल बोलाई स्पष्टीकरण मागेको जानकारी दिनुभयो ।शैक्षिक क्यालेन्डर पालना नगर्ने, स्थानीय सरकारको जानकारीमा नआइकन शिक्षण संस्था बन्द गर्ने कार्य पूर्ण रूपमा गैरजिम्मेवार र अनुशासनहीन व्यवहार भएको खड्काकाे आराेप छ।

यस घटनाबारे वडा नम्बर १२ का वडाध्यक्ष दिलमान पुनसँग प्रतिक्रिया लिन खोज्दा उहाँले फोनसमेत रिसिभ गर्नु भएको छैन्। वडाअन्तर्गत पर्ने विद्यालयहरू बन्द हुँदा वडाध्यक्षको मौनता र अनुपस्थिति देखिएकाे छ।

शिक्षा जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले गरिएको यस्तो कार्यले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पार्ने भन्दै गाउँपालिकाले थप विद्यालयहरू पनि निगरानीमा राखिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार