२०८३ कार्तिक ११ गते मङ्गलवार

किशोरी सशक्तीकरणका लागि नियमित बैठक



रुकुमपूर्वकाे भूमे गाउँपालिका–३ का विद्यालयमा अध्ययनरत किशोरीहरू हरेक शुक्रबार नियमित बैठक बस्दै आएका छन्। नेपाल सर्वाङ्गीण विकास समाजको सहजिकरणमा रहेकाे साे कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ।

साप्ताहिक बैठक किशोरीहरूको दैनिक जीवनमा आइपर्ने समस्या, समाधानका उपाय, तथा किशोरावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनबारे जानकारी प्रदान गर्ने थलो बनेको छ। कार्यक्रममा नेतृत्व गर्दै आउनु भएका नेपाल सर्वाङ्गीण विकास समाजका कार्यक्रम प्रवन्धक विजय लामाका अनुसार, बैठकहरूमा किशोरी सशक्तीकरणका विविध विषयमा समेत छलफल गरिएको थियाे।

यस कार्यक्रम अन्तर्गत किशोरीहरूलाई स्यानिटरी प्याड तथा ‘किशोरी सशक्तीकरण सहयोगी पुस्तिका’ समेत वितरण गरिँदै आएको छ। संस्थाले भूमे–३ का विद्यालयहरूमा दिवा खाजा वितरणजस्ता पोषण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

स्थानीय विद्यालयहरूमा किशोरीका लागि यस्ता नियमित बैठकले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न मात्र होइन, उनीहरूलाई जिम्मेवार र जानकार नागरिक बनाउन पनि सहयोग पुगिरहेको विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार