रुकुम पूर्व, तकसेरा – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११, तकसेरामा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता साउन ४ गतेदेखि सुरु हुने भएको छ। हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने प्रतियोगितामा देशभरका प्रतिष्ठित क्लबहरूको सहभागिता रहनेछ।
‘राँके सेराबाला जाऔँ ! भाषा, संस्कृति र इतिहास बचाऔँ !’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल, कोसी, गण्डकी र कर्णाली प्रदेशका टोलीसँगै मणिमुकुण्ड भलिबल क्लबको सहभागिता सुनिश्चित भएको क्लब अध्यक्ष मिलन बुढा मगर (दिपक) ले जानकारी दिनुभयो।
प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिनेछ। प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी मैदानमा उतार्न सक्नेछ। खेलमा प्रथम हुने टोलीले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेलाई तीन लाख, तेस्रोलाई दुई लाख र चौथो स्थान हासिल गर्ने टोलीलाई एक लाख रुपैयाँसहित ट्रफी प्रदान गरिने भएको छ।
यस भलिबल प्रतियोगितासँगै महिला भलिबल, पुरुष र महिला फुटसल, दोहोरी गीत तथा छेलो प्रतियोगिता पनि समावेश गरिएको छ। महिला भलिबलतर्फ प्रथम हुने टोलीलाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ भने फुटसल र अन्य विधाहरूमा समेत आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको क्लब सचिव जीवन बुढा मगरले बताउनुभयो।
कार्यक्रममा लोक नृत्य, सांगीतिक प्रस्तुति तथा रात्रिकालीन सांस्कृतिक कार्यक्रमसमेत हुनेछन्। क्लबका संस्थापक, पूर्व खेलाडी र समाजसेवीहरूलाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।
तकसेराको पहिचान, स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा पनि कार्यक्रमले सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। “कालोमास” का रूपमा चिनिने साउन महिनामा समुदायमा खेलकुद र साङ्गीतिक चेतनाका माध्यमबाट एकता र समृद्धिको सन्देश दिन खोजिएको आयोजकको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्