रुकुमपूर्वको भूमे गाउँपालिका–९ डाडागाउँमा अवस्थित श्री मदन स्मृति आधारभूत विद्यालय देशकै पहिलो ‘शुद्ध दलित बस्ती’मा सञ्चालनमा आएको सरकारी विद्यालयको रूपमा स्थापित हुँदै गएको छ।जातीय समावेशिता, सामाजिक पहिचान र शैक्षिक पहुँचको दृष्टिले यो विद्यालय समावेशी शिक्षाको अद्वितीय उदाहरण बनेको छ।
चुन्बाङको डाडागाउँमा जम्मा ६५ घरधुरी छन्।सबैजना विश्वकर्मा (दलित) समुदायका हुन्। यही गाउँमा रहेको श्री मदन स्मृति आधारभूत विद्यालयमा हाल बालविकासदेखि कक्षा ५ सम्मको पठनपाठन हुँदै आएको छ।अन्य कुनै जातिको प्रवेश नभएको यो गाउँ र विद्यालय सामाजिक संरचनाको दृष्टिले विशुद्ध दलित समुदायले मात्र सञ्चालनमा ल्याएको सरकारी विद्यालयको दुर्लभ नमुना हो।
विद्यालयका प्रधानाध्यापक चेतराम नेपाली अनुसार यस विद्यालयमा जातीय घुलमिल छैन, भेदभाव पनि छैन।बालबालिकाले आत्मसम्मानसाथ शिक्षा लिइरहेका छन्, जुन अरू ठाउँमा सहज छैन।”विद्यालय सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त जनमुक्ति सेनाका मदन सुनारको स्मृतिमा २०६४ सालमा स्थापना गरिएको नेपालीले बताउनुभयो।
हाल विद्यालयमा ५० जना विद्यार्थी अध्ययनरत छन् भने चारजना शिक्षक (२ पुरुष र २ महिला) कार्यरत छन्।विद्यालयमा शौचालय, पिउने पानी, छात्रवृत्ति, खाजा र पाठ्यपुस्तकको उपलब्धता पर्याप्त मात्रामा रहेको छ।
विद्यालयका विद्यार्थीहरू पनि शिक्षण व्यवस्थाबाट सन्तुष्ट देखिन्छन्।कक्षा ५ मा अध्ययनरत अकेश सुनार र सनीता महर भन्छन्, “पाठ्यपुस्तक, खाजा, छात्रवृत्तिको अभाव छैन।पढ्न सहज छ।”विद्यालयका संस्थापक अध्यक्ष पलबहादुर विक भन्छन्, “शुद्ध दलित बालबालिकाका लागि सुरक्षित र सहज शिक्षण वातावरण सिर्जना गर्न हामी प्रारम्भदेखि नै प्रतिबद्ध छौं।”
यस्तै बालविकास शिक्षिका यलिसा महरका अनुसार जातीय भेदभावको अनुभूति डाडागाउँमा कहिल्यै छैन।“यसले बालबालिकामा आत्मविश्वास बढाएको महरले बताए।शिक्षिका जीवनरेखा सुनारले शिक्षक, अभिभावक र समुदायको सक्रियताले विद्यालयका धेरै समस्या समाधानमा टेवा पुगेको बताए।
गाउँपालिका कार्यपालिका सदस्य भागिलाल दमाई भन्छन्, “गुणस्तरीय शिक्षा दिन सकेमा अन्य ठाउँका बालबालिका पनि यहाँ पढ्न आउन सक्छन्।राज्यले यस्ता विद्यालयलाई थप प्राथमिकता दिनुपर्ने दमाईले बताउनुभयो।
वडाध्यक्ष विनोद बुढाले शिक्षक अभाव, डेस्कबेन्चको कमी, पोषणका लागि अन्डा वितरण जस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभएको छ।पाठ्यक्रम सुधारतर्फ पहल भइरहेको र अझै नयाँ योजना वडाले ल्याउन बाँकी रहेका बढाले बताउनुभयो।
मदन स्मृति आधारभूत विद्यालय जातीय समावेशिता, सामाजिक न्याय र शिक्षामा पहुँचका दृष्टिले राष्ट्रिय स्तरमै अनुकरणीय बन्दै गएको छ। यस्तो विद्यालयलाई थप स्रोतसाधन र नीतिगत समर्थन गरिएमा दलित बस्तीहरूमा गुणस्तरीय शिक्षाको नयाँ ढोका खुल्ने सम्भावना छ।














प्रतिक्रिया दिनुहोस्