२०८३ साउन १३ गते बुधवार

दुर्घटनामा गम्भीर घाइते ओलीलाई भूमे गाउँपालिकाबाट ३५ हजारको सहयोग



आकस्मिक कोषमार्फत विपद् पीडितलाई निरन्तर राहत वितरण

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकाले सवारी दुर्घटनामा गम्भीर घाइते भएका स्वास्थ्यकर्मी हेमराज ओलीलाई आकस्मिक कोषबाट ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गत असार १८ गते सिस्ने गाउँपालिका –५ को मध्यपहाडी लोकमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका –८ निवासी २७ वर्षीय ओली गम्भीर घाइते भएका थिए।दुर्घटनामा उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।प्रारम्भिक उपचारपछि रुकुमपूर्व अस्पतालबाट ओलीलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा हेलिकप्टरमार्फत रिफर गरिएको थियो।

उपचार खर्च धेरै लाग्ने देखिएपछि उनको घर परिवारले आर्थिक सहयोगको अपिल गरेका थिए। उक्त अपिलपछि हजारौ नागरिकले सहयोग गर्दै आएका छन्।यसै बिच भूमे गाउँपालिकाले आकस्मिक कोषबाट ३५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल विकले जानकारी दिनुभएको छ।

गाउँपालिकाले विपद् व्यवस्थापन तथा मानवीय सहयोगका लागि २०७४ सालदेखि आकस्मिक कोष खाता सञ्चालन गर्दै आएको छ।“प्राकृतिक तथा मानवीय कारणले जुनसुकै बेला विपद् आउन सक्ने भएकाले हाम्रो गाउँपालिकाले यस्तो संकटको घडीमा सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीबाट वर्षमा दुई दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्दै आएको हौ ” अधिकृत विकले भन्नुभयो।

आकस्मिक कोषमार्फत गाउँपालिकाले विगतमा पनि विभिन्न दुर्घटनामा परेका तथा गम्भीर रोग लागेकाहरूलाई राहत दिँदै आएको जनाएको छ।गाउँपालिकाले विपद् व्यवस्थापन निर्देशिका तयार गरी उद्धार, राहत र पुनःस्थापना सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन रणनीति बनाएको छ।

दुर्घटनामा ओली रा.७प.१२६२ नम्बरको मोटरसाइकलमा रुकुमकोटबाट धौलापहिरातर्फ जाँदै हुनुहुन्थ्यो भने विपरित दिशाबाट आइरहेको बा.२९ प. ४४२७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।हाल ओलीको पोखरामा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार