रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित डेरामा बस्दै आएकी एक महिला कर्मचारी मृत अवस्थामा फेला परेकी छन्। सिस्ने गाउँपालिका कार्यालयमा सहायक पदमा कार्यरत २३ वर्षीया कोईली शाही शनिबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
उनको स्थायी ठेगाना सिस्ने गाउँपालिका–६ खोपिचार भएकी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार प्रारम्भिक अनुमानमा घटना शुक्रबार रातिको हुनसक्ने बताएकाे छ।
जिल्ला प्रहरी कार्यालयले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, रुकुम पूर्व लगिएको जनाएको छ। घटनाको प्रकृति आत्महत्या वा अन्य कुनै कारणले भएको भन्नेबारे यकिन विवरण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
हालसम्म प्राप्त जानकारी अनुसार, मृतक शाहीको मोबाइल फोन झुण्डिएको स्थानभन्दा माथिल्लो भागको भराइनोमा राखिएको अवस्थामा भेटिएको छ। फोनको स्क्रिनपट्टि भाग भित्तातिर फर्काइएको र त्यसरी राखिएको कारणले घटना थप शंकास्पद देखिएको छ।मोबाइलमा भिडियो रेकर्ड भएको हुनसक्ने वा कसैसँग भिडीयो कल गरिरहेकै बेला घटना घटेको पनि हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले अनुसन्धान जारी रहेको र कुनै निष्कर्षमा पुग्न समय लाग्ने स्पष्ट पारेको छ।














प्रतिक्रिया दिनुहोस्