२०८३ बैशाख ५ गते शनिवार

काेईली शाहीकाे मृत्यु प्रकरणमा मुछिए प्रेस चाैतारीका अध्यक्ष परिचन्द्र खत्री



रुकुमपूर्वकाे सिस्ने गाउँपालिकामा कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी परेको छ।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा मृतक शाहीका आफन्तले खत्रीविरुद्ध जाहेरी दिएका हुन् । २५ वर्षीया कोइली शाही शनिबार बिहान सिस्ने गाउँपालिका–५ स्थित आफ्नै कोठामा मृत अवस्था भेतिएकि थिइन् ।

मृतक शाही परिवारका अनुसार पत्रकार खत्रीले पटक–पटक फोनमार्फत मानसिक तनाव दिने कार्य गर्दै आएका थिए, जसले कोइलीको मानसिक अवस्था बिग्रिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवले घटनाको अनुसन्धान जारी रहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ ।

मृतक शाहीको २९ गते आइतबार अन्त्येष्टि गरिएकाे छ।पोष्टमार्टम रिपोर्ट भने अझै प्राप्त भइसकेको छैन । घटनापछि पत्रकार खत्री फरार रहेको बुझिएको छ।

अभियुक्तलाई आत्महत्या दुरुत्साहनको मुद्दा  ठहरे मुलुकी अपराध संहिता २०७४ को दफा १८५ बमोजिमको सजाय हुनेछ । कसैले कसैलाई आत्महत्या गर्ने सम्मको परिस्थिति खडा गरेमा पाँच बर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी ब्यबस्था छ ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार